
नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै जोशीसहित महासमिति सदस्य पुष्करनाथ ओझा र डडेल्धुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निस्काशन गरेको हो।
अनुशासन समितिको शनिबारको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।
जोशी यसअघिको प्रतिनिधिसभा चुनावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ-१ मा बागी उम्मेदवार बनेका थिए। यद्यपि भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो।
ओझाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ। आरजु कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकाेमा तत्कालीन एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन्।
कार्यालय सचिव विष्टले महिला संघका नेतृहरुलाई घाइते बनाएको आरोप छ।
गत असार तेस्रो साता कार्यालय सचिव विष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए ।
कारवाही अघि अनुशासन समितिले तीनै जनासँग अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टिकरण सोधेकाेमा जवाफ चिक्त बुझ्दो नभएपछि कारबाही गरिएको जनाएको छ।