
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले चीनविरुद्ध लोकतान्त्रिक मुलुकहरूको साझेदारीका लागि आह्वान गर्नु भनेको नयाँ शीतयुद्धको सूत्रपात नै हो ।
यसरी वाशिङटनले आफ्नो निरंकुश शक्तिप्रदर्शनको अर्को एक नमूना देखाइरहेको छ जबकि अमेरिकीहरू संसारको नयाँ तानाशाह बेइजिङ हो भनिरहेका छन् ।
तर वाशिङटनले चित्रित गरे जस्तो विश्वको ध्रुवीकरण एकीकृत विश्वव्यापी अर्थतन्त्रमा असम्भव छ ।
अरू त के कुरा, अमेरिकी सेना आफ्नो हतियार प्रणालीका लागि चीनबाट आपूर्ति हुने दुर्लभ पदार्थमा निर्भर छ ।
वास्तवमा भन्नुपर्दा अमेरिकाको समग्र अर्थतन्त्र चीनमा निर्भर छ किनकि उसको सबभन्दा ठूलो व्यापारिक साझेदार नै चीन हो । सन् २०१९ मा अमेरिकाको चीनसँगको व्यापारघाटा ३४५ अर्ब डलर थियो ।
चीनसँगको व्यापारघाटा बाँकी मुलुकसँग अमेरिकाको व्यापार असन्तुलनको लगभग आधा हो । वर्षौंदेखि यही स्थिति छ । यस्तोमा चीनलाई एक्ल्याउने ट्रम्पको नीति केटाकेटीपन हो ।
त्यसैले चीनप्रतिको शीतयुद्धस्तरको शत्रुता व्यर्थ देखिन्छ । चीनको वाणिज्यदूत कार्यालय बन्द गर्ने अनि जासूसी गरेको भन्दै दोषारोपण गर्ने कामले गतिरोध मात्र बढाउँछ । तर अमेरिकाले शीतयुद्ध कार्यान्वयन गर्न र त्यसलाई धान्न समेत सक्ने स्थिति छैन ।
अमेरिकाले शीतयुद्धका लागि आफूसँग आउन कर गरिरहेका मुलुकको हकमा पनि यही कुरा लागू हुन्छ । अस्ट्रेलिया, बेलायत र क्यानडा जस्ता मुलुक विचारधारात्मक द्वन्द्वमा पर्दा उनीहरूको अर्थतन्त्रमा गम्भीर क्षति पुग्छ ।
अस्ट्रेलियाका कृषकहरू चीनतर्फ निर्यात बन्द भएपछि निकै पीडामा छन् । वाशिङटनको प्रोक्सीका रूपमा काम गर्दै क्यानबेराले बेइजिङलाई कोरोनाको दोषी भएको संकेत गरेपछि यस्तो स्थिति आएको हो ।
पोम्पेओले अघिल्लो साता लन्डन पुगेर चीनविरुद्ध स्वतन्त्र विश्व उभिनुपर्ने बताए । त्यसअघि बेलायत सरकारले टेलिकम क्षेत्रको आधुनिकीकरणमा चिनियाँ कम्पनी हुआवेसँग गरेको सम्झौता खारेज गरेको थियो ।
ट्रम्प प्रशासनले चीनबाट राष्ट्रिय सुरक्षा खतरा रहेको भन्दै चरम दबाब दिएपछि बेलायत झुकेको हो । तर बेलायती अधिकारीहरूले यस्तो कदम चालेर देशको अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिएको छ ।
युरोपेली संघबाट छुट्टिएको बेलायतले चीन जस्तो प्रमुख व्यापारिक साझेदारलाई गुमाउनु घातक छ ।
युरोपेली संघ पनि व्यापार तथा लगानीका लागि चीनमा निर्भर छ । वाशिङटनले ल्याएको ध्रुवीकरण नीति र शीतयुद्ध कालमा जस्तो विश्वलाई टुक्र्याउने कामले युरोपेली नेताहरूलाई चिन्तित तुल्याएको छ ।
चीनसँग सम्बन्ध विच्छेद गर्नु भनेको अनुहारलाई तह लगाउन नाक काट्नु जस्तै हो ।
सोभियत संघसँगको शीतयुद्धमा विश्व दुई ठूला खेमामा बाँडिएको थियो । आर्थिक अन्तःसम्बन्ध एकदमै न्यून थियो । अर्थतन्त्र र सञ्चारमा स्पष्ट विभाजन रहेकाले फलामे पर्दालाई कायम राख्न सहज थियो । तर त्यस किसिमको कृत्रिम अलग्याइ अहिलेको सञ्जालमा जेलिएको विश्वमा सम्भव छैन ।
विश्वव्यापी अर्थतन्त्रको वास्तविकतालाई पेन्टागनले पनि सम्मान गर्नुपर्ने अनि महत्त्वपूर्ण सामग्रीका लागि चीनमा निर्भर रहनुपर्ने स्थितिमा वाशिङटनले चीनसँग गर्न खोजेको शीतयुद्ध फगत सपना हो ।
विचारधाराको द्वन्द्वको विषय निकालेर विश्वमा प्रभुत्व जमाउनका लागि उसले खोजिरहेको बहानाबाजीका लागि व्यक्त गरिएको भ्रमपूर्ण कुरा मात्र हो यो ।
दुर्भाग्यवश विश्वको विभाजनकारी दृष्टि लाद्न खोजेर अमेरिकाले आफ्नो अनि आफ्ना साझेदारहरूलाई आर्थिक हानि पुर्याउन खोज्दैछ । यसक्रममा अन्तर्राष्ट्रिय तनावहरूलाई खतरनाक तवरले चर्काइँदैछ ।
आरटीमा प्रकाशित फिनियन कनिङ्घमको विश्लेषण