०३ असार २०८३, बुधबार

अविरल वर्षासँगै कैलाली जलमग्न

साउन १४, २०७७
अविरल वर्षासँगै कैलाली जलमग्न

मंगलवार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । 

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौं घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीय शुभम चौधरीले जानकारी दिए । जानकी–३, ७, ८, ९ का सयौं घर डुबानमा परेको चौधरी बताउँछन् ।

‘कुलो फुटेर बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन पटानी भएको छ,’ चौधरीले भने, ‘सयौं घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौं ।’

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नम्बर ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ ।

तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए । ‘वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्,’ बडघर जैशीले भने, ‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।’

लगातारको वर्षाका कारण टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ । पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए ।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौं घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए । कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । भजनी र जोशीपुरमा पनि सयौं परिवार विस्थापित हुने अवस्था आएको छ ।

भजनीस्थित पत्रकार कुसुम धामीका अनुसार भजनी–३ र ७ मा रहेका सयौं घर डुबानमा परेपछि उनीहरूलाई उच्च स्थानमा सार्ने तयारी थालिएको छ ।
 
यसैगरी जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताए । ‘नदी भरिएर बस्ती डुबानमा मात्र परेका होइन, सयौं बिघा धानखेती पटानी भएको छ,’ बोहरा भन्छन्, ‘रातभर वर्षा भएकाले अहिले डुबानमा रहेका बस्तीमा राहत तथा उद्धारका लागि तयारी भइरहेको छ ।’

कैलालीका कर्णाली, मोहना, काडा, कान्द्रा, खुटिया लगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । रातभरिको वर्षापछि कैलालीमा बिहानैबाट प्रहरी उद्धारमा खटेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको बताए ।

‘जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेका छौं,’ प्रहरी प्रमुख न्यौपानेले भने, ‘स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका छौं । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटेको छ । विवरण आउन बाँकी छ ।’ – दुर्गा देवकोटा/रासस 

salt training

कमेन्ट गर्नुहोस्