
बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा पानीको सतह बढेकाले सर्तक रहन आग्रह गरेको छ ।
बिहीबार बिहान महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउ खोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्छ, दिउँसो २ बजेसम्म सतर्क रहौं ।’
अहिले पनि बुटवल पाल्पा लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको छ । बाढी पूर्व सुचना प्रणाली पाल्पाका संयोजक सन्तोष शेरचनले निरन्तर पानी परेकाले पानीको बहाव बढदै गएको लोकान्तरलाई जानकारी दिए ।
उनले भने, ‘पानी निरन्तर परेको छ । अझै खतराको घण्टी चाही बजेको छैन । सर्तक भने रहनुपर्ने अवस्था छ ।’ यस नदीको तटीय क्षेत्रमा झण्डै १२ हजार मानिसहरु बसोबास गर्छन् ।
सुकुम्बासीको नाममा नदीको बहाव क्षेत्र खुम्चाएर बस्ती बस्दा तिनाउ नदी साँघुरिदै गएको छ । सोमबारदेखि लगातार परेको वर्षा अझै रोकिएको छैन । अझै प्रदेश ५ मा पनि ठूलो पानी पर्ने विभागले जनाएको छ ।