
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरूको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरू विभिन्न ४२ शीर्षकहरूमा समेटिएका छन् ।
२४० बर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।
सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।
विभिन्न राजनीतिक शक्तिहरूबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा ३८५ पृष्ठहरू रहेका छन् भने यसको मूल्य रु। ५०० रहेको छ ।
पुस्तक राजधानी काठमाडौं लगायत देशका विभिन्न शहरका पुस्तक पसलहरूमा उपलब्ध हुने जानकारी गराइन्छ ।