
भारतमा नक्कली मदिरा र स्यानिटाइजर पिउँदा छुट्टाछुट्टै स्थानमा ३१ जनाकाे ज्यान गएकाे छ।
बीबीसी हिन्दीले उल्लेख गरे अनुसार पञ्जाब राज्यमा नक्कली मदिरा पिउँदा २१ जनाकाे ज्यान गएकाे हाे, भने आन्ध्र प्रदेशमा स्यानिटाइजर पिउँदा १० जनाकाे मृत्यु भएकाे छ।
पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले नक्कली मदिरा घटनाकाे जाँच गर्न जालन्धर डिभिजन कमिश्नरलाई आदेश दिएका छन्।
पञ्जाकाे अमृतसर, बताला र तरन-तारण जिल्लामा नक्कली मदिराका कारण २१ जनाकाे ज्यान गएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एक जना गम्भीर घाइते भएका छन्।
आन्ध्र प्रदेशकाे कुरिचेदु सहरमा मदिरा पसल बन्द छन्।
मदिरा पसल बन्द हुँदा स्यानिटाइजर सेवन गरेकामध्ये १० जनाकाे ज्यान गएकाे त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कुरिचेदु सहरका वरिष्ठ पुलिस अधिकारी सिद्धार्थ कौशलले समाचार एजेन्सी राेयटर्सलाई बताए अनुसार लकडाउनका कारण मदिरा पसल बन्द थिए। र ती व्यक्तिहरुले ह्यान्ड स्यानिटाइजर पिएका थिए।