३२ असार २०८३, बिहीबार

कोरोना सङ्क्रमणलाई अवसरका रूपमा लिएर देश विकास गरौं ः महामन्त्री कोइराला

कोरोना सङ्क्रमणलाई अवसरका रूपमा लिएर देश विकास गरौं ः महामन्त्री कोइराला
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा बुधवार आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएका हुन ।

“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”, उनले भने ।

कांग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए ।

महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको थियो, भने ।

फाउन्डेसनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको बताए ।

कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताए ।

पछिल्लो समय कांग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गरे ।

फाउन्डेसनका सदस्य–सचिव अतुल कोइरालाले फाउन्डेसनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्