
पुनर्कर्जाका लागि ग्राहकबाट आवेदन संकलन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
पुनर्कर्जाको नयाँ कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट एकमुष्ट रूपमा पाउने रकमका लागि आवेदन खुला भएको हो ।
बैंक तथा वित्तीय संस्थाले आवेदन संकलनका लागि ४५ दिनको समयावधि पाएको राष्ट्र बैंकले जनाएको छ । यसमा भदौ १ देखि असोज १४ सम्म बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट आवेदन संकलन गर्नुपर्नेछ । संकलित आवेदन बराबरको रकम बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट एकमुष्ट रूपमा पाउनेछन् । यस्तो रकम प्रत्येक वर्षर् बढीमा बैंकको कोर क्यापिटल (प्राथमिक पुँजी) को २५ प्रतिशत हुनुपर्नेछ ।
आवेदन आह्वान भए पनि अहिले कोभिडबाट प्रभावितले मात्र पुनर्कर्जा पाउनेछन् । ‘राष्ट्र बैंकबाट गत साउन १२ मा जारी भएको परिपत्रअनुसार कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित तोकिएका क्षेत्रमा प्रवाहित कर्जा आवेदनका लागि योग्य हुनेछन्,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ । कोभिडबाट न्यून प्रभावित क्षेत्रमा प्रवाहित कर्जाले यस्तो सुविधा पाउने छैनन् ।
राष्ट्र बैंकका अनुसार मध्यम प्रभावित क्षेत्रमा प्रवाह भएका सक्रिय कर्जाको ०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई ०७७ चैत मसान्तसम्म भुक्तानी म्याद पाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।