२१ जेठ २०८३, बिहीबार

मनाङवासीको गुनासो– ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’

मनाङवासीको गुनासो– ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’

नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ– यदि कतै स्वर्ग छ भने त्यो यही हो । प्राकृतिक सौन्दर्यताले भरिएको गण्डकी प्रदेशको यस मनाङ जिल्लाका आकर्षण त धेरै छन् तर मुख्य हुन्– तिलिचो ताल, थोराङ्ला पास, आइस लेक र अन्नपूर्ण पदमार्ग ।  

त्यसो त नेसोकुन्ड पास, गंगापूर्ण ताल, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा गुफा पनि यहाँका आकर्षक पर्यटकीय गन्तव्य हुन् । लमजुङ जिल्लाको बेंसीशहरबाट मनाङको ताल, धारापानी, चामे हुँदै माथिल्लो मनाङको खाङ्सार र विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङको सीमा शुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खोत्रो, धारापानी, बगरछाप, चामे, हुम्डे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् । 

मनाङका प्रमुख पर्यटकीय गन्तव्य 

हुन त यहँका सबै स्थान पर्यटकका लागि महत्वपूर्ण छँदैछन् तर पनि प्रमुख आकर्षण केन्द्रका रूपमा रहेका स्थानहरु भने विश्वमै प्रख्यात  छन् । तीमध्ये विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल यहाँको आकर्षण हो । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा यो ताल छ । 

त्यस्तै पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास, तिलिचो ताल हुँदै मुस्ताङ ठिनी गाउँ निस्कने नेसोकुन्ड पास, तीन हजार ५४० मिटर उचाइमा रहेको गंगापूर्ण ताल, चार हजार ६०० मिटरमा रहेको आइस लेक, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा केभ मनाङ ङिस्याङ गाउँपालिकामा रहेका छन् । 

त्यस्तै फु गुम्बा, काङ्ला पास, जुलुफरेष्ट, चुलुपिक, तिब्बती खम्पाहरुले बसोबास गरेका भवनका अवशेष नार्पा भूमि गाउँपालिकामा पर्दछन् । मनाङको सदरमुकाम रहेको चामे गाउँपालिकामा प्राकृतिक तातोपानी कुण्ड, लमजुङ हिमालको बेसक्याम्प, पछिल्लो समयमा लमजुङ हिमालको फेदीमा रहेको कजिन सारा लेक पनि पर्यटकको रोजाइमा पर्दै आएको छ । 

मनाङ, लमजुङ र गोरखासँग जोडिएको नासो गाउँपालिकाअन्तर्गत नेपालकै अग्लो ताम्राङ झोलुङ्गे पुल पानीबाट माथि ४१२ मिटर उचाइ र १६५ मिटर लामो छ । ऐतिहासिक नुन व्यापारिक केन्द्रको रुपमा परिचित तिल्चे गाउँ पाँच हजार १६ मिटर उचाइमा रहेको लार्के पास, मनास्लु पदमार्ग, पोङ्कर ताल, ड्रोना ताल यहाँका आकर्षक गन्तव्य हुन् । 

पछिल्लो समयमा यस गाउँपालिकामा सञ्चालनमा आएका ताचै घरबास र ओडार गाउँ घरबासले पनि पर्यटकको मन जित्दै आएको ताचै घरबासका अध्यक्ष याद घलेले बताए ।

कोरोना कहरले रोक्यो पर्यटक   

मनाङमा वर्षेनी हजारौँ पर्यटक भित्रने गरेका छन् । सन् २०२० को शुरुआतमा मात्रै करिब १२ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका बाबुलाल तिरुवाले जानकारी दिए । कोरोना महामारीले मनाङको पर्यटन व्यवसायमा पनि ठूलो मारमा परेको छ । 

सन् २०२० लाई नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष’ घोषणसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएको अवस्थामा महामारीले  यस ठाउँको पर्यटन व्यवसायले गति लिन सकेन । यस ठाउँमा सन् २०१८ मा ३० हजार विदेशी पर्यटक भित्रिएका थिए भने सन् २०१९मा २९ हजार पर्यटक मनाङ आएका अन्नपुर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ । 

सन् २०१८ को तुलनामा सन् २०१९ मा बाढीपहिरो, हिमपात र डेङ्गु रोगले प्रभाव परेको पर्यटन व्यवसायीको भनाई छ । त्यस्तै अहिले सन् २०२० को  सुरुवातमा दैनिक १०० देखि १५० जना विदेशी पर्यटकको आवगमन हुँदै गर्दा कोभिड १९को महामारीपछि भने आवगमन पूर्णरूपमा ठप्प भएको छ । 

तथ्याङ्कअनुसार कोभिड– १९ को महामारीले बन्दाबन्दी हुनुभन्दाअघिको समयमा एक दिनमा ३०५ जनाभन्दा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए । तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशी मात्रै नभएर स्वदेशी पर्यटकसमेत उल्लेख्यरूपमा आउने गरेका छन् । 

साउन, भदौदेखि मङ्सिरसम्म मनाङमा बाह्य तथा आन्तरिक पर्यटकको भीड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि यहाँको मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घले बताउँछन् । पछिल्लो समय मनाङमा सडक विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भए पनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागिरहेको घलेको भनाइ छ ।

विसं २०६९ मा जिल्लाको सदरमुकाम चामेसम्म सडक पुगेपछि मनाङमा विकासको गति तीव्र रुप बनेको छ । त्यसपछि यहाँ शिक्षा, स्वास्थ्य, विद्युतका कामहरू यहाँ सुचारू छन् । एकमात्र जिल्ला अस्पताललाई विस्तार गर्ने कामको समेत थालनी भएको छ । नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्