२३ जेठ २०८३, शनिबार

बुधवार ३ बजेदेखि लमजुङ सदरमुकाममा पनि निषेधाज्ञा

बुधवार ३ बजेदेखि लमजुङ सदरमुकाममा पनि निषेधाज्ञा

कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा नं. २, ३, ७ र ८ का बजार क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । 

 जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार स्थानीय ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २० दफा २ बमोजिम सो समय अवधिका लागि निषेधाज्ञा गरिएको हो ।

 जिल्लामा आज मात्र नेपाली सेनामा कार्यरत २० जना र बेंसीशहर नपा वडा नं ७ र ८ का तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बजार क्षेत्रमा समेत जोखिम बढेकाले एक हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। उनले भने, अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू तथा कार्यहरू बन्द रहनेछन् ।

 औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै बारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने भएको छ ।

त्यस्तै, एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शववाहन, फोहोरमैला व्यवस्थापन गर्ने गाडी, निर्माण सामग्री ढुवानी साधन, पशुपंछी दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारीसाधनबाहेक सबै निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने जिल्ला प्रशासनले जनाएको छ । 

खाद्यान्न र तरकारीको लागि भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । स्वास्थ्य संस्था, अत्यावश्यक सेवाका कार्यालय, सरकारी कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्चालन गर्ने सोका लागि न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनुपर्ने भएको छ ।

 त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गर्ने एटीएमबाहेकका अन्य सेवाहरू बन्द गरिएको प्रशासनले जनाएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह ब्रतबन्ध) लगायतका धेरै जना जमघट तथा भेला हुने सबै प्रकारको क्रियाकलापमा गर्न नपाउने भएको छ । 

जिल्लामा हालसम्म नौ महिलासहित १३९ जना कोरोना सङ्क्रमित भएकामध्ये नौ महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । केही दिनअघिदेखि उपचारत् ५ र आज थपिएको २३ जना गरी २८ जना कोरोना सङ्क्रमित विभिन्न आइसोलेसनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्