
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्।
निरन्तरको पहिरोले सुनकोशीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरु पहिरोको जोखिममा परेका हुन्। पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए।
पहिरो मुनी धुसेनी गाउँ छ भने पहिरोमाथि सुन्दरडाँडा गाँउ छ। वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन्।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।
अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ। गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन्। गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए। स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाले जानकारी दिए।