काठमाडौं, २२ वैशाख– बुधबार साँझदेखि बेपत्ता भएका भनिएका नयाँ शक्ति नेपाल पार्टीबाट काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ का अध्यक्षका उम्मेदवार मदन गिरी फेला परेका छन् ।
बुधबार साँझ सवा ७ बजेतिर काठमाडौंको नयाँबजार क्षेत्रबाट हराएका गिरी लिलिपुरको गोदावरीस्थित बसपार्कमा फेला परेका हुन् ।
प्रहरीका अनुसार उनलाई गोदावरी बसपार्कमा बसिरहेको अवस्थामा फेला पारिएको हो ।
दुई दिनदेखि हराएका गिरीले प्रहरीसँगको बयानमा आफूलाई अपहरण गरिएको बताएका छन् । गिरीले बुधबार सात बजेर १५ मिनेटमा प्रताप नाम गरेका उनका साथीलगायत ८ जनालाई आफू अपहरणमा परेको भन्दै मोबाइलबाट म्यासेज गरेका थिए । गिरीले म्यासेजमा ‘मलाई चार जनाले अपहरण गरेर बानेश्वरतिर लगेका छन्’ भनेर उल्लेख गरेका थिए । उनको त्यो म्यासेज आएपछि मोबाईल अफ भएको थियो ।