
संयुक्त राष्ट्रसंघले विश्वव्यापी पर्यटनमा कोभिड–१९ को भयानक असरको आँकडा सार्वजनिक गरेको छ । यसले उक्त क्षेत्रमा १.२ अर्ब घाटा लगाएको छ भने १२ करोड जागिर धरापमा परेको छ ।
हालै प्रकाशित पोलिसी ब्रीफमा राष्ट्रसंघले अघिल्लो वर्षको तुलनामा सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या ५८ देखि ७८ प्रतिशतसम्म घट्न सक्ने प्रक्षेपण गरेको छ । उसको आकलन अनुसार, पर्यटन उद्योगका लागि यस्तो
भयानक झट्काका कारण ८५ करोडदेखि १ अर्ब १० करोडसम्म पर्यटक घट्ने देखिएको छ । कतिपय देशको आय नै पर्यटनमा निर्भर रहेकाले यसले निकै झट्का दिएको छ ।
‘यस वर्षको पहिलो पाँच महिनामा अन्तर्राष्ट्रिय पर्यटक आगमनको संख्या आधाभन्दा बढी नै घटेको छ र पर्यटनबाट हुन् लगभग ३२० अर्ब डलर बराबरको आम्दानी गुमेको छ,’ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताए ।
सन् २००९ मा विश्व्यापी आर्थिक मन्दी आउँदा भएको क्षतिभन्दा यो तीन गुणा बढी हो ।
यस पृथ्वीमा १० मध्ये एक मानिस पर्यटन क्षेत्रमा काम गर्ने भएकाले यो अभूतपूर्व संकटले करोडौं मानिसको जीवन नै धरापमा पारेको राष्ट्रसंघको चेतावनी छ । पर्यटन क्षेत्रमा १० करोडदेखि १२ करोडसम्मको प्रत्यक्ष रोजगारी पूर्णतः विनाश हुने र पर्यटनमा अत्यन्तै निर्भर देशको अर्थतन्त्रमा बेरोजगारी २० प्रतिशतभन्दा बढी हुने सम्भावना छ ।