
सहरी विकास मन्त्रालयलाई दुई हजार बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । खरिद ऐन ०६३ को दफा ६६ एवं सार्वजनिक खरिद नियमावली ०६४ को नियम १४५ बमोजिम खरिद प्रक्रिया अघि बढाउन स्वीकृति दिइएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
‘छिटो काम गर्नुपर्ने हुनाले विशेष व्यवस्थाबाट अगाडि बढ्नुपर्ने हुन्छ,’ सोमबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले भने, ‘छिटोभन्दा छिटो क्वारेन्टाइन निर्माण गर्दै जानुपर्ने भएकाले मन्त्रिपरिषद्ले विशेष प्रक्रियाबाट खरिद प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।’
विदेशबाट आउने नेपालीका लागि उपत्यकामा क्वारेन्टाइन बनाउने जिम्मा मन्त्रालयलाई दिइएको सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले बताए । यसअघि पनि मन्त्रालयले दुई चरण गरेर १ हजार ९ सय ४८ बेडको क्वारेन्टाइन बनाएको थियो । ‘कार्यविधिअनुसार सक्दो चाँडो निर्माण गर्ने सोच हो,’ मन्त्री नेम्वाङले भने, ‘चाँडो गरे पनि खरिद प्रक्रियाको ऐन कानुनअनुसार काम गर्नुपर्छ ।’ एक साताभित्र खरिद प्रक्रिया सुरु गरिने उनको भनाइ छ । उपत्यकामा घर र ठाउँ खोज्ने काम जारी छ । त्यसको टुंगो लाग्नासाथ खरिद प्रक्रिया सुरु हुन्छ ।
‘दुई हजार बेड बनाउन स्रोत सुनिश्चितता, व्यवस्थापन र खरिद प्रक्रियालाई छोटो प्रक्रियाबाट टुंग्याउने गरी प्रस्ताव गरिएको थियो,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएकाले अब खरिद प्रक्रियाको काम अघि बढाइनेछ ।’ नेपालमा दैनिक दुई सय बेड बनाउन सक्ने क्षमता भएका निर्माण व्यवसायी छन् । ‘अघिल्लो पटक क्वारेन्टाइन बनाउँदा यी कुरा थाहा पाइयो,’ उनले भने, ‘त्यसैले खरिद प्रक्रियालाई ३० दिनबाट ७ दिनमा झार्न सकियो भने बढीमा एक महिनाभित्र दुई हजार बेड तयार हुनेछन् ।’ फलामका खाट, डस्ना, सिरक, एउटा बिरामीले प्रयोग गर्ने शौचालय र त्यहाँ राख्ने सामान व्यस्थापन गरिने उनले जानकारी दिए । ‘कुनै–कुनै ठाउँमा बनाएका घरलाई मर्मतसम्भार पनि गर्नुपर्नेछ,’ उनले भने । यसका लागि नयाँ घर बनाउनुपर्ने छैन । खाली घरमा बेड थपिनेछ । त्यस्तै खाली रहेका सरकारी भवनलाई पनि प्रयोगमा ल्याइनेछ । छिटोभन्दा छिटो मन्त्रालयले क्वारेन्टाइन तयार पार्ने उनको दाबी छ ।
अघिल्लो पटक क्वारेन्टाइन तयार पार्न १० करोड माग गरिएको उनले बताए ।
‘खरिद प्रक्रियामा जाँदा ३५ प्रतिशत घटेर ठेक्का हुँदा ६ करोड लाग्यो,’ उनले भने, ‘त्यो बेलाको बजेट पनि केही बाँकी छ, यसलाई नै आधार मानेर अर्थसँग बजेट माग गरिएको छ ।’ उनका अनुसार दुई हजार बेडका लागि अनुमानित १२ करोड रुपैयाँ माग गरिएको छ । ‘खरिद प्रक्रियामा जाँदा बजेट घट्छ,’ उनले भने, ‘अहिले पनि पहिलाको भन्दा सस्तोमै बन्ने देखिन्छ ।’ अघिल्लो पटक काठमाडौं र भक्तपुरमा पहिलो चरणमा २ सय ४८ र त्यसपछि १ हजार ७ सय बेड बनाइएको मन्त्रालयका सचिव मधुसूदन अधिकारीले जानकारी दिए । पहिला सरकारी भवन, निजी अस्पताललगायतमा बेड राखेर क्वारेन्टाइन बनाइएको थियो । ‘अहिले पनि पहिलाको जसरी नै काम गरिनेछ,’ उनले भने, ‘सक्दो चाँडो काम गरेर बेड तयार पार्छौं । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।