
रूपन्देही घर भएका एक प्रहरी नायब निरीक्षक (सई) स्वयम्भुमा ड्युटी गरिराखेका थिए । उनलाई ज्वरो आयो । एक दिन त सामान्य औषधि खाए, तर ज्वरो निको भएन ।
सामान्य समयमा भएको भए त उनी मेडिकलमा गएर औषधि लिन्थे, निको हुन्थ्यो । तर अहिलेको अवस्था त्यस्तो छैन । विश्वभरमा कोरोनाभाइरस (कोभिड– १९) को महामारी चलिरहेको छ । लक्षण पनि त्यसैसँग मिल्ने भएकाले अर्को दिन ३२ गते कोरोनाभाइरसको परीक्षणका लागि स्वाब दिए ।
नभन्दै अर्को दिन भदौ २ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो । उनी स्वाब दिएपछि ब्यारेकमा क्वारेन्टीनमा बसेका थिए । उनलाई पोजेटिभ आएपछि विश्वास नै लागेन । एक छिन त उनको मस्तिष्क शून्य जस्तै भयो । कसैलाई केही भन्न सकेनन्, तर यथार्थ त्यही नै थियो ।
त्यसपछि उनी नेपाल प्रहरीको अस्पतालमा रहेको आइसोलेसनमा गए । आइसोलेसनमा १० दिन बसे ।
उनलाई कोरोनाभाइरस जितिन्छ भन्ने विश्वास थियो । त्यति धेरै हतोत्साहित भएनन् । घरपरिवारलाई पनि उनले बताए । शुरूमा त घरपरिवार पनि अलिकति डराएका थिए, तर उनले सम्झाए ।
‘कोरोना लाग्यो भन्दा पहिला त घरका पनि डराएका थिए तर पछि मैले सम्झाए, धेरै समस्या नभएकाले उनीहरूले बुझे पनि,’ ती सईले लोकान्तरलाई भने ।
आइसोलेसनमा बसेको समयमा संगठन (नेपाल प्रहरी) बाट पनि राम्रै हौसला मिलेको उनले बताए ।
‘कमाण्डरहरू र साथीभाइहरूले पनि यो केही होइन, जितिन्छ भन्ने हौसला दिनुभएको थियो । सबैभन्दा ठूलो कुरा आत्मविश्वास र अरूको साथ सहयोग रहेछ,’ ती सईले भने ।
अहिले उनी फेरि आफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । कोरोनाभाइरसको लडाईंमा आत्मविश्वास र आफन्तको सहयोग चाहिने उनको बुझाई छ ।
***
कोरोना संक्रमणलाई जितेर फर्किएका अर्का प्रहरी हुन्, प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरे । आफू संक्रमित भएको कुरा उनले फेसबूकमार्फत नै सार्वजनिक गरेका थिए ।
उनलाई पनि साउन महिनामा कोरोना संक्रमण भएको थियो । अहिले उनी प्रहरी प्रधान कार्यालयको कोभिड– १९ समन्वयन इकाइमा कार्यरत छन् ।
कोरोना संक्रमण भएको पुष्टि भइसकेपछि एक छिन त मन कटक्क भएको थियो ।
पहिलोचोटि घरपरिवारलाई सुनाउँदा पनि अलिक असहज त भयो, तर उनी हतोत्साहित भने भएनन् ।
प्रहरीको सेवामा विभिन्न ठाउँको कमाण्ड सम्हालेका रजौरेलाई यसबाट केही हुँदैन भन्ने थियो ।
घरपरिवारले अलिकति चिन्ता लिए पनि पछि भने सबैले स्नेह र माया गरेको एसपी रजौरेले बताए ।
‘पोजेटिभ आयो भन्दा एकचोटि मन अमिलो त हुँदो रहेछ, तर जितिने विश्वास र आत्मबल ममा थियो,’ एसपी रजौरेले लोकान्तरसँग भने, ‘घर परिवारले अलिकति चिन्ता लिए शुरूमा, तर पछि माया र स्नेहले कोरोना भाइरस जितेको छु ।’
प्रहरी संगठनले पनि सहयोग र माया दिएकाले पनि कोरोनालाई सहजै जित्न सफल भएको रजैरे सुनाउँछन् ।
सामाजिक रूपमा कोरोना संक्रमितलाई गरिएको व्यवहारलाई चिर्नका लागि संगठनको स्वीकृतिमा सामाजिक सञ्जाल फेसबूकमार्फत् आफूलाई कोरोनाभाइरसको संक्रमण भएको सबै जानकारी गराएका थिए ।
‘कोरोना संक्रमित हुनेबित्तिकै कुनै ठूलो अपराध गरेजस्तो समाजमा देखिएकाले त्यसलाई चिर्नका लागि मैले फेसबूकमा म कोरोना संक्रमित भएँ भनेर पोस्ट्याएको थिएँ,’ एसपी रजौरेले लोकान्तरसँगको कुराकानीमा सुनाए ।
क्वारेन्टीनमा बस्दा दैनिक धेरैभन्दा धेरै स्वास्थ्यलाई तन्दुरुस्त राख्नमा ध्यान दिए । उनी सामान्य समयजस्तै बिहानै उठेर एक गिलास कागती पानी र सादा पानी खाएपछि क्वारेन्टीनमा बसेको कोठामै हिँड्थे ।
दैनिकजसो आफूलाई व्यस्त राख्नका लागि केही संगठनात्मक र अन्य पुस्तकहरू पढेर बिताए ।
कोरोना संक्रमण मुक्त भएपछि अहिले आफ्नो काममा फर्किएका छन् ।
पछिल्लो समयमा कोरोनाभाइरसको संक्रमण नेपाल प्रहरीभित्र धेरै देखिएको छ भने निको भएर सेवामा फर्किनेहरू पनि धेरै छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको आइतवार (भदौ २१) सम्मको तथ्यांकलाई हेर्ने हो भने ९ सय ५० जना कोरोना मुक्त भएर सेवामा फर्किएका छन् ।
आइतवारसम्म २ हजार १६१ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको प्रहरीको तथ्यांकले देखाउँछ, अझै १ हजार २११ जना उपचाररत छन् ।
प्रहरी प्रधान कार्यलयमा ३ सय ८९ जनामा कोरोना संक्रमण भएकामध्ये ३ सय १८ जना निको भएर सेवामा फर्किएका छन् ।
अहिलेसम्म उपत्यकामा ६ सय २४ जना, १ नम्बर प्रदेशमा ३ सय ४० जना, २ नम्बर प्रदेशमा २ सय ५७ जना, बाग्मती प्रदेशमा १ सय जना, गण्डकी प्रदेशमा १ सय ४३ जना, ५ नम्बर प्रदेशमा १ सय ९८ जना, कर्णाली प्रदेशमा ७० जना र सुदुरपश्चिम प्रदेशमा ३९ प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।