०३ असार २०८३, बुधबार

हिजो दिनभर : स्थायी कमिटीका लागि ओली-प्रचण्डको १५ बुँदे प्रस्तावः मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरिने

हिजो दिनभर : स्थायी कमिटीका लागि ओली-प्रचण्डको १५ बुँदे प्रस्तावः मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरिने

स्थायी कमिटीका लागि ओली-प्रचण्डको १५ बुँदे प्रस्तावः मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरिने
सत्तासीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र सरकार सञ्चालनका लागि नयाँ मार्ग खोजेका छन्।

शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि १५ बुँदे प्रस्ताव तयार गरेका उनीहरूले पार्टी र सरकार सञ्चालनदेखि मन्त्रिपरिषद् पुनर्गठनको विषय समेटेका छन्। नेकपा महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्दै तयार गरिएको नयाँ प्रस्ताव अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई दिइएको छ।

सरकारको काम प्रधानमन्त्रीको हैसियतमा ओलीले र पार्टी काम कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले गर्ने उल्लेख छ। यो प्रस्ताव कार्यदलको प्रतिवेदनकै वरिपरी देखिन्छ।

 प्रतिवेदनमा पार्टी र सरकारबीचको कामलाई प्रभावकारी र संस्थागत बनाउन समन्वय गर्ने जिम्मेवारी दुवै अध्यक्षको हुने उल्लेख छ। यसैगरी, मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गरिने प्रस्तावमा उल्लेख छ। 

त्यसका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने भनिएको छ। 

प्रतिवेदनमा उल्लेख भए अनुसार मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्टिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गरिनेछ।
कांग्रेसमा गणेशमान र किशुनजी जस्तो पार्टी छाड्नुपर्ने अवस्था आउन दिन्न : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद आजको नभएको भन्दै विगतमा जस्तो नेताहरूले पार्टी छाड्नुपर्ने अवस्था आउन नदिने बताएका छन् । उनले निष्पक्ष महाधिवेशन गर्न आफू तयार रहेको बताए ।

बीपी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस प्रचार विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अहिलेको अवस्थामा महाधिवेशन हुन नसक्ने भए पनि सहमतिको आधारमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाए ।

‘पार्टीको विवाद आजदेखिको झगडा होइन, गणेशमान र कृष्णप्रसाद भट्टराईले पार्टी छाड्नुभएको हो । अहिले कसैलाई छाड्नुपर्ने अवस्था आउन दिन्न,’ देउवाले भने । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले ३ वर्ष अघिदेखि नै महाधिवेशनको कुरा गरे पनि नेतृत्व गम्भीर नभएको आरोप लगाएपछि देउवाले आफूले महाधिवेशन नगर्ने कहिले भनेको छ भनेर प्रतिप्रश्न गरे ।

‘अहिले अधिवेशन हुनसक्ने अवस्था छैन भनेर साथीहरूले भनेका छन, अधिवेशन हुन्न भनेर मैले भनेको छैन । सबैको अनुमतिले सार्ने हो । कहिले सार्ने सहमतिमै हुन्छ । निष्पक्ष अधिवेशन गर्नको लागि कहाँ रोकेको छु ?’ देउवाले भने । 

कम्युनिस्ट पार्टीसँग लड्नुपर्ने कांग्रेस पार्टीको यो हालत छ : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले समयमै झक्झक्याउँदा पनि नेतृत्वले महाधिवेशन गर्नेतर्फ ध्यान नदिएको आरोप लगाएका छन् ।

उनले १४ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्न आफू तयार रहेको र यसका लागि न्याय, निष्पक्षता र पारदर्र्शी मूल्यांकनको आधार बनाउनुपर्ने बताए । 

बीपी जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस प्रचार विभागले बुधवार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आफूले भनेको समयमा महाधिवेशनको तयारी थालेको भए अहिले रुवावासी गर्नुपर्ने अवस्थाको सिर्जना नै नहुने बताए । 

‘हामी १४ औं महाधिवेशनको मुखमा छौं । कतिपय जिल्लामा समायोजन रोकिएको छ । क्रियाशील सदस्यता वितरण शुरू नै भएको छैन । मैले ३ वर्ष अगाडिदेखि महाधिवेशनको तालिकाको कुरा गरेको थिएँ । सुनौलो भविष्यका लागि समयबद्ध काम गर्नुपर्छ भनेको थिए । त्यसो गरेको भए रुवावासी गर्नुपर्ने थिएन,’ पौडेलले भने ।

विधानले १ वर्षभन्दा बढी कार्यकाल थप गर्ने अधिकार नदिएको स्मरण गर्दै पौडेलले आफूले महाधिवेशको कुरा गर्दा नेतृत्वका लागि हतारो गर्‍यो भनेर व्यंग्य गरिएको स्मरण गरे । ‘जुन बेलामा सहज वातावरण थियो, असाधारण भनेर लम्ब्यायौं । अहिले साँच्चिकै असहज वातावरण हुँदा के भनेर टार्ने हो ? विधानले १ वर्षभन्दा माथि थप्ने अवस्था छैन,’ पौडेलले भने ।  

पौडेलले सर्वसत्तावादउन्मुख कम्युनिस्टसँग लड्न बलियो पार्टी चाहिने बताए । ‘कम्युनिस्टको संगठित शक्तिसँग लड्न छ, यसै त उनीहरू धाँधली गर्न माहिर छन् । सत्ता र प्रहरी उनीहरूसँग आउँदो चुनावमा के के नगर्लान् ? त्यस्तो पार्टीसँग लड्नुपर्ने पार्टीको यो हालत छ,’ पौडेलले भने ।  

पौडेलले कांग्रेसको महाधिवेशन ढिलाइले आगामी स्थानीय तहको चुनावका लागि तयारी नपुग्ने बताए । ‘महाधिवेशनभन्दा भन्दै स्थानीय चुनाव आउँछ । चुनावको सामना गर्न तयारी कहिले गर्ने ? देख्ने मान्छेले देख्दो रहेछ नि !’ पौडेलले भने । 

पौडेलले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्नका लागि आफू तयार रहेको बताए । त्यसअघि विमलेन्द्र निधिले सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी कार्यकर्ता र मतदातामा कम्युनिस्टसँग चुनाव लड्न ऊर्जा मिल्ने बताएका थिए । 

‘अहिले साथीहरू एकता भनिरहेका छन् । गिरिजाप्रसाद र किशुनजीको झगडा मिलाउन हामी लागेकै हो । हामीलाई आरएसएस (रामचन्द्र, शैलजा र शेरबहादुर) भन्थे । एकता चाहिन्छ, न्याय, निष्पक्षता र पारदर्र्शी मूल्यांकनको आधारमा एकता गर्दा मेल हुन्छ । त्यागको भावना पनि हुनुपर्छ,’ पौडेलले अगाडि भने, ‘नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न चाहन्छौं भने हामी तयारी गरौं । कहाँ गर्दा सहमति हुन सक्छ, १/१ तर्क अगाडि सारेर सर्वसम्मत गरौं । कसरी सर्वसम्मत गर्ने यथार्थ आधार पेश गरौं ।’

पौडेलले आजको यथार्थलाई हेरेर कहाँ न्याय र निष्पक्षता हुन्छ भन्ने मूल्यांकन गरेर कांग्रेसलाई कम्युनिस्टसँग फेस गर्न सक्ने पार्टी बनाउन प्रस्ताव गरे ।

salt training

कमेन्ट गर्नुहोस्