३० असार २०८३, मंगलबार

आतंकविरुद्धको अमेरिकी युद्ध : पीडा, हत्या र विस्थापनको लामो सिलसिला

भदौ २५, २०७७
आतंकविरुद्धको अमेरिकी युद्ध : पीडा, हत्या र विस्थापनको लामो सिलसिला

‘युद्धको मूल्य’ नामक ब्राउन विश्वविद्यालयको परियोजनाले सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाले चलाएको कथित आतंकविरुद्धको युद्धका कारण कम्तीमा ३ करोड ७० लाख मानिस विस्थापित भएको पत्ता लगाएको छ । 
तर वास्तविक विस्थापितको संख्या ५ करोडदेखि ६ करोड हुन सक्छ । 

कम्तीमा ३ करोड ७० लाख जनसंख्या यसरी विस्थापित हुँदा ठ्याक्कै त्यही संख्यामा अमेरिकीहरूले खाद्य असुरक्षा बेहोर्नुपरेको तथ्यांक छ । अमेरिकी सरकारले विदेशमा मानिस मार्न र विस्थापित गर्न आफ्नो स्रोत सम्पत्ति खर्च गरेकाले त्यति धेरै अमेरिकीले दुःख पाउनुपरेको हो । 

द न्युयोर्क टाइम्समा यसको खबर छापिएपछि युद्धपिपासुहरू क्रुद्ध भएका छन् । द वाशिङटन पोस्टमा युद्धपिपासु स्तम्भकार जोश रोगिनले भने, ‘यसलाई विश्लेषणको नाम दिएर प्रकाशन गर्न न्युयोर्क टाइम्सलाई लाज लाग्नुपर्ने हो । ७० लाख सिरियालीहरू विस्थापित हुनुमा अमेरिकालाई दोष दिनु पागलपन र बेइमानी हो । अमेरिकाविरोधी प्रचारबाजीलाई यसले प्रोत्साहन गर्छ ।’

अनि सिरियामा असदको सरकार ढाल्न आएका अतिवादीहरूलाई अमेरिका र उसका साझेदारहरूले समर्थन गरेको के हो त ? त्यस्ता अतिवादी जन्मेको नै आतंकविरुद्धको लडाइँका नाममा पश्चिमले गरेको हस्तक्षेपका नाममा पश्चिम एसिया अस्थिर बनेकाले होइन र ? 
 

आतंकविरुद्धको युद्धका नाममा अमेरिकाले हस्तक्षेप गर्दा भएका हिंसा र अस्थिरताका कारण लाखौं मानिस घर छोडेर भाग्न बाध्य भएका थिए । कतिजना अमेरिकीले यो कुरा बुझेका छन् ? यस्तो वीभत्स परिणाम ल्याउने युद्ध जायज ठहरिन्छ त ? 

यस्तो परिस्थितिमा वास्तविक आतंकवादी को हुन् ? 
 

आतंकवादविरुद्धको युद्ध भनेको बेस्सरी पैसा खर्च गरिएको व्यापक स्तरको आतंकवाद हो र यसले थप आतंकवाद जन्माएको छ । पश्चिमी हस्तक्षेपका कारण आत्मघाती बम आक्रमणहरू बढेर गएका छन् । अमेरिकाले इराक र अफगानिस्तानमा हस्तक्षेप गर्नुअघि आत्मघाती बम आक्रमण खासै हुँदैनथिए । यसरी आतंकवाद निर्मूल गर्ने भनी चलाइएको युद्ध आफैं आतंकवादी थियो । 

नहोस् पनि किन ? अर्काको देश ध्वस्त पार्दा अनि अस्थिर बनाउँदा मानिसहरू जाइलाग्न नआऊन् पनि कसरी ? 

सन् २००८ मा र्‍यान्ड कर्पोरेसनको एक प्रतिवेदन लेसन्स फर काउन्टरिङ अल–कायदाले अमेरिकी सेनालाई मुसलमान समाजमा युद्धको कारवाही नगर्न चेतावनी दिएको थियो किनकि उसको उपस्थितिले आतंकवादी भर्ती गर्ने काम बढेको पाइयो । ‘सैन्य बलले आफ्नो उद्देश्यभन्दा ठ्याक्कै उल्टो प्रभाव पार्छ । यसले स्थानीय जनतालाई विरक्त बनाउँछ अनि आतंकवादी समूहलाई लडाकू भर्ती गर्न प्रेरित गर्छ,’ प्रतिवेदनमा लेखिएको छ । 

अनि सीआईएका पूर्व वरिष्ठ अधिकारीहरू रहेको स्टिमसन टास्क फोर्स अन यूएस ड्रोन पोलिसीले मध्यपूर्व, अफ्रिका र दक्षिण एसियामा अमेरिकाको ड्रोन आक्रमणले अतिवादी इस्लामिक समूहलाई बलियो बनाएको भनी सन् २०१४ मा चेतावनी दिएको थियो । 
 

आतंकवादविरुद्धको युद्धले उद्देश्यभन्दा ठ्याक्कै विपरीत काम गर्छ । यस तथ्यलाई कसैले पनि गलत ठहर्‍याउन सक्दैन । 

त्यसो भएर यसलाई निरन्तरता किन दिइएको हो त ? यस्तो व्यापक स्तरको हस्तक्षेप र अतिक्रमण कायम मात्र नभई झनै चर्किरहेको छ जबकि यसले पीडा, विस्थापन र आतंकवाद सिर्जना गर्नुबाहेक अरू केही पनि गरेको छैन । 

खासमा यसको उद्देश्य नै त्यही हो । 

पहिलो, राष्ट्रहरू ध्वस्त पार्ने र लाखौं मानिसलाई विस्थापन गर्ने । दोस्रो, त्यहाँका केही मानिसलाई आफूप्रति घृणा जगाएर लड्न प्रेरित गर्ने । तेस्रो, उनीहरूले लड्न चाहेको देखाएर पहिलो कदमलाई जायज ठहर्‍याउने । 

अमेरिकी साम्राज्यले आतंकवादविरुद्ध लड्ने नाममा भूरणनीतिक रूपमा महत्त्वपूर्ण र स्रोतसाधनमा धनी क्षेत्रहरूमा मानिस मारेर अनि विस्थापन गरेर संसारकै सबभन्दा ठूलो ठगी गरिरहेको छ । आफ्नो क्रियाकलापका कारण हिंसा र अतिवाद बढेपछि आतंकवादविरुद्धको युद्धको नाममा थप हस्तक्षेपलाई जायज ठहर्‍याउने काम उसले गरिरहेको छ । हिंसाको वृत्ताकार सिलसिला चलिरहेको छ र यसले साम्राज्यवादी शक्तिहरूलाई थप सैनिक, सैन्य अड्डा तथा युद्ध संयन्त्र परिचालन गर्न सबल बनाएको छ । आफूलाई नटेर्ने मुलुकहरूको सास थुनिदिन उनीहरूले यस्तो रणनीति ल्याएका हुन् । 

यसरी हस्तक्षेप गरेर आतंकवाद जन्मायो अनि त्यही आतंकवादलाई परास्त गर्ने बहानामा थप हस्तक्षेप गर्‍यो । 

अनि तेल आइरहन्छ । पैसा जम्मा भइरहन्छ । 

हामीलाई राक्षसहरूले शासन गरिरहेका छन् ।
 

आरटीमा प्रकाशित केटलिन जोनस्टोन 
 

salt training

कमेन्ट गर्नुहोस्