२३ जेठ २०८३, शनिबार

चीन र भारतसँग सीमा जोडिएको क्षेत्रमा ‘विओपी’ स्थापनाका लागि स्वीकृति

चीन र भारतसँग सीमा जोडिएको क्षेत्रमा ‘विओपी’ स्थापनाका लागि स्वीकृति

गृह मन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङ्को ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी (विओपी) स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ।

सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा विओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार दुई ठाउँका लागि मन्त्रालयले सो स्वीकृति दिएको हो। विओपी राख्नका लागि स्थानीय तहसँग छलफल भइरहेको छ।

जग्गा प्राप्त हुनेवित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए। अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकारको छ। गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेका छन्। 

उक्त योजनाअनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिनेछ। हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ। चीनतर्फ पाँच वटा छ।

पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए। मन्त्रालयका अनुसार ५०० मध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ। चालु आर्थिक वर्षभित्रमा सक्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ। हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहन्छन्। 

salt training

कमेन्ट गर्नुहोस्