२९ असार २०८३, सोमबार

जुत्ता चम्काउनेको पीडा : कोरोना रोग त खै, भोकभोकै मर्ने स्थिति आइसक्यो !

भदौ २७, २०७७
जुत्ता चम्काउनेको पीडा : कोरोना रोग त खै, भोकभोकै मर्ने स्थिति आइसक्यो !

जनकपुरधाम उपमहानगरपालिका–४ विद्यापति चोकमा ३८ वर्षीय संजीव राम विगत ३० वर्षदेखि जुत्ता पालिसको काम गर्दै आएका छन् । तर पछिल्लो ६ महिनादेखि भने उनको परिवारमा २ छाक खाना टार्न समेत समस्या छ ।

‘दिनभर कमाइ गरेर २ छाक खानाको जसोतसो जोहो गरेर गाउँमा परिवारको पालनपोषण गर्दै आएको थिएँ,’ उनले भने, ‘तर पछिल्लो ६ महिनादेखि कमाइ नै नभएपछि कतिपय दिन भोकभोकै बसें । कति दिन नून–रोटी, कतिपय दिन च्युरा मात्र खाएर बस्न बाध्य हुनुपर्‍यो ।’

कुनै उपाय नलागेपछि गाउँको साहुबाट ३० हजार रुपैयाँ ऋण–कर्जा लिएर भात खाइरहेको उनले बताए । त्यसअघि नै पुरानो २० हजार रुपैयाँ ऋण रहेको उनले बताए ।

महोत्तरीको मटिहानी स्थायी घर भएका संजीव आफूलाई ८ वर्ष हुँदादेखि नै चोकमा जुत्ता पोलिस गर्ने, चप्पल–जुत्ता सिउने, टाल्ने जस्ता काम गरेर जीविका चलाउँदै आएका थिए । त्यसअघि उनका हजुरबुवा भोला राम र बुवा आयोधी राम पनि त्यहीँ काम गर्थे ।

‘शुरूमा हजुरबुवा र त्यसपछि बुवाले पनि यही चोकमा पालिसको काम गरेर जसोतसो जीवन धाउने काम गर्दै आउनुभएको थियो,’ संजीवले भने, ‘जब म ८ वर्षको भएँ, त्यहीबेलादेखि बुवासँगै चोकमा जुत्ता–चप्पल सिउने काम गर्न थालें ।’

त्यतिबेला चप्पल सिउदा १ रुपैयाँ र जुत्ता पालिस गर्दा ५ रुपैयाँ कमाइ हुने गरेको उनले सम्झिए । ‘दिनमा १०० देखि १५० रुपैयाँसम्म त्यतिबेला कमाइ हुन्थ्यो । तर,अहिले लकडाउन हुनुअघि भने दिनमा ५०० देखि ७०० रुपैयाँसम्म कमाइ हुने गर्थ्यो,’ उनले भने, ‘अहिले जुत्ता–चप्पल सिलाईको १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म, जुत्ता पालिसको ३० रुपैयाँ पाइन्छ । कुनै महिना १८ हजार त कुनै महिना १९ हजार रुपैयाँसम्म कमाइ हुने गरेको भए पनि बचत भने ५–६ हजार रुपैयाँ मात्र हुने गरेको छ ।’

जनकपुरमा बस्ने घरको भाडा मासिक २ हजार रुपैयाँ र पसल थापेको कठघराको मासिक १ हजार रुपैयाँ भाडामै खर्च हुने उनले बताए । पहिले–पहिले सडकपेटीमा नै काम गर्ने उनले २ वर्षअघि कठघरा भाडामा लिएका छन् । प्रत्येक दिन होटलमा नै खाना खाने गरेकाले दैनिक २५० रुपैयाँ २ छाक खानामै जाने गरेको उनी बताउँछन् । ‘काम गर्नका लागि ब्रस, पालिस, धागा, काँटी (किला) लगायत सामान किन्दा नै महिनाको २ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ,’ उनले भने ।

घरमा आमाबुवाका साथै पत्नी रिंकू देवी, छोरीहरू १२ वर्षीय शिवा कुमारी, १० वर्षीय राखी कुमारी, ८ वर्षीय लक्ष्मी कुमारी र छोरा ५ वर्षीय शिवम कुमार सहितको परिवार पाल्न समस्या हुने गरेको उनले बताए । ‘छोरीहरू गाउँकै सरकारी स्कूलमा पढ्छन्,’ उनले भने, ‘श्रीमतीले गाउँमा साहु महाजनको खेतमा ज्याला गर्ने गरेकी छन् ।’

लकडाउन भएपछि जनकपुरमा केही दिन बसेको भए पनि पछि खान समेत समस्या भएका कारण उनी गाउँ फर्किएका थिए । गाउँमा पनि धेरै दिन काम नै नपाएर बसेका उनी गत असारमा पुनः शहर फर्किए । ‘असारमा काम गर्न पाए पनि १ महिनामा ४ हजार रुपैयाँ बचत त गरे तर बाँकी रहेको घर भाडा तिर्न र खानाको पैसामै सकियो । साउनमा फेरि जनकपुरमा लकडाउन भयो र खाली हात नै गाउँ फर्किनुपर्‍यो,’ उनले भने, ‘गाउँमा केही न केही गरु, लेबर मजदुरी नै गरु भने पनि झन् गाउँमा कुनै काम नै नपाउँदा कर्जामाथि कर्जा निकालेर जसोतसो जीवन गुजारा चलाएको छु । कोरोना रोग त खै, भोकभोकै मर्ने स्थिति आइसक्यो !’

भदौ २० गते उनी फेरि जनकपुर आएर आफ्नो काममा फर्किएका छन् । ‘बिहानको ८ बजे पसल खोल्ने गरेको छु, केही घण्टा पसल थापे पनि ग्राहकहरू बढी आउँदैनन्,’ उनले भने, ‘अलिअलि २–४ रुपैयाँ कमायो कि २ बजे पसल बन्द गर्न भनेर पुलिस आइहाल्छन् ।’

गरीब र मजदुरले कमाइ गर्न नपाए त्यसै मर्ने भएकाले लकडाउन सधैंको लागि खोल्नुपर्ने उनले बताए । ‘म जस्तै हजारौं दलित समुदाय जो दिनमा कमायो र रातमा खायो भन्ने अवस्थाको छ, त्यस्तो मानिसले काम नै गर्न पाएन भने कसरी बाँच्ने ?’ उनले भने, ‘बन्द नै गर्नुछ भने हामी सबैलाई दिन र रात खानाको व्यवस्था पनि सरकारले गर्नुपर्‍यो ।’

विगतमा पटक–पटक मधेशमा लामो समयसम्म मधेश आन्दोलन हुँदा पनि काम कहिल्यै नरोकिएको बताउँदै उनले कुनै पनि आन्दोलनकारी कहिल्यै पनि काम बन्द गराउन नआएपनि यसपालि पुलिस नै आएर काम बन्द गराइरहेको उनले गुनासो गरे । गाउँमा ५ धुर घडेरीमा फुसको झुपडीबाहेक कुनै सम्पत्ति नरहेको उनले बताए ।

‘ऋण–कर्जा थपिएको थप्यै छ, लकडाउन सधैका लागि नखुल्ने हो भने हामी गरीब मानिसहरू परिवारसहित सामूहिक आत्महत्या गर्नुबाहेक विकल्प छैन,’ उनले भने, ‘त्यसको सम्पूर्ण जिम्मेवारी त्यही पुलिस, प्रशासन र सरकार हुनेछन् ।’

salt training

कमेन्ट गर्नुहोस्