काठमाडौँ, २४ बैशाख - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहरूले बताएका छन् ।

गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस–माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो, नयाँ पत्रिकामा खबर छ ।
चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने र वैशाख पहिलो साता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने समझदारी त्यतिवेला दुई दलबीच भएको थियो । तर, निर्वाचन ढिलो भएपछि प्रचण्ड नेतृत्वको सरकार एक महिना लम्बिएको छ । सरकारले ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेको छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा लागि निर्वाचन हुँदैछ ।
दोस्रो चरणको निर्वाचनसम्म यही सरकार टिकाउने वा देउवालाई हस्तान्तरण गरेर चुनाव गराउने भन्ने दुवै पार्टीबीच ठोस समझदारी भने बनिसकेको छैन । प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन पनि गराउन कांग्रेस सहमत नभए जेठ पहिलो हप्ता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पनि प्रधानमन्त्री विगतको राजनीतिक सहमतिका आधारमै सरकारको नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।