
नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ।
कोभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहनुभएका उहाँलाई हिजो (मङ्गलबार) साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कील जानकारी दिए।
उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ। 'अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ,' उनले भने, 'अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ'
उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ।
महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए। केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो।