
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न चुनौती सामना गर्न क्षेत्रीय एकता एक मात्र विकल्प भएको सार्कका अर्थमन्त्रीहरूले बताएका छन् । यो बैठक एसियाली विकास बैङ्कको ५३औँ वार्षिक बैठकको पूर्वतयारीका रूपमा बसेको हो ।
कोभिड–१९ र दक्षिण एसियाली अर्थव्यवस्था तथा सार्कअन्तर्गत औपचारिक संयन्त्रको सक्रियताको आवश्यकता विषयमा सार्कका अर्थमन्त्रीहरूको बुधबार भर्चुअल रूपमा बसेको १५औँ अनौपचारिक बैठकमा उहाँहरूले एकताबद्ध रहेर आर्थिक र सामाजिक चुनौती सामना गर्न सकिने बताएका हुन् ।
बैठक नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको थियो । बैठकमा बोल्दै मन्त्री ज्ञवालीले महामारीका क्रममा आउन सक्ने ठूला चुनौती सङ्केत गर्दै त्यसको सामना गर्न एकताबद्ध प्रयास हुनुपर्नेमा जोड दिए । महामारीको लडाइँका क्रममा यसका नकारात्मक प्रभाव अर्थव्यवस्थाका महत्वपूर्ण क्षेत्रमा पर्ने भएकाले त्यसको समाधानमा सार्क मुलुक जुट्न उनले ध्यानाकर्षण गराए ।
उनले सो बैठकसँगै पूर्वतयारी (साइड) बैठकका रूपमा एसियाली विकास बैङ्क (एडीबी)को ५३औँ वार्षिक बैठक पनि भर्चुअल तवरमा गर्नका लागि उत्कृष्ट व्यवस्थापन गरिएकोमा सराहना गरे ।
सार्कका महासचिव एसाला रुवान विराकुनले कोभिड–१९ र दक्षिण एसियाली अर्थव्यवस्थाका विषयमा धारणा राख्दै सार्क मुलुकका अर्थव्यवस्थाको महामारीको प्रतिकूल प्रभाव र त्यससँग सम्झौता गर्न सकिने उपायको आवश्यकता बारेमा चर्चा गरे । यस्तो अवस्थामा सामूहिक कार्यको महत्वलाई जोड दिनुपर्ने उनले स्पष्ट पारे।
सार्क कोभिड–१९ आपत्कालीन कोष स्थापना गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव र सार्क नेतृत्वको सहमतिबाट प्रतिकूल असरको सम्बोधन गर्नका लिइएको तत्काल प्रतिक्रियाको प्रशंसा उहाँले गर्नुभयो । सबै देशले आफ्ना स्वेच्छाले योगदान गरेको स्पष्ट गर्दै उहाँले अझै सक्रिय र हस्तक्षेपकारी उपाय अपनाउन जरुरी रहेको औँल्याए ।
एडीबीका उपाध्यक्ष शिसिन चेनले एडीबी र सार्कबीचको सहयोगको आवश्यकताका साथै एडीबीले यस क्षेत्रका लागि पहिल्यै गरिसकेका पहल र वित्तीय प्रतिबद्धताका बारेमा जानकारी गराउनुभयो । उहाँले कोभिड–१९ र यसका नकारात्मक असर विश्लेषण गरेर सार्क क्षेत्रका जनताको आर्थिक विकास र समृद्धिका लागि सार्कसँगको सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए ।
सार्क क्षेत्रका अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले बैठकमा कोभिडको प्रभाव कम गर्ने तथा हरेक मुलुकले प्राप्त गरेका आर्थिक प्रगतिको वर्तमान स्थितिलाई सुधार्ने विषयमा अपनाइएको उपायका बारेमा सार्कका महासचिव विराकुनलाई जानकारी गराए। एडीबीले सार्क क्षेत्रको आर्थिक वृद्धिका लागि गरेको योगदानको सराहना मन्त्रीहरूले गरे । साथै उनीहरूले सार्कबाट यस क्षेत्रका मानिसको हितका लागि पूर्ण सम्भावना र प्रगतिका लागि थप आशा व्यक्त गरेका थिए ।
वरिष्ठ अर्थशास्त्री तथा एडीबीका आर्थिक अनुसन्धान र क्षेत्रीय सहयोग विभागका महानिर्देशक याशुकी सवाडाले यस बैठकको महìवपूर्ण विषय कोभिड–१९ र दक्षिण एसियाली अर्थ व्यवस्थाका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा वर्तमान अवस्थामा सार्क क्षेत्रका चुनौती र अवसरसँगै अर्थव्यवस्थामा सम्भावित प्रभावका बारेमा उनले आफ्नो धारणा र तथ्य विश्लेषण गरेको सार्क सचिवालयले जनाएको छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।