
काठमाडौं, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच आज साँझ ५ बजे शीतलनिवासमा भेट हुने भएको छ । प्रधानन्यायाधीश कार्कीले अब के गर्छिन् भन्ने व्यापक कौतूहल चल्दै गर्दा दुईजनाबीच भेट हुन लागेको हो ।
भेट के विषयमा केन्द्रित हुनेछ भन्ने वारेमा आधिकारिक रूपमा केही खुलेको छैन तर एक उच्च सरकारी स्रोतले प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष अन्तिम भेट गर्न लागेको दाबी गरेको छ ।
‘प्रधानन्यायाधीशले राष्ट्रपतिलाई भेटेर अाफू एक महिना विदामा बस्ने बारेमा जानकारी गराउने वा राजीनामा दिने सम्भावना छ,’ स्रोतले लोकान्तरसँग भन्यो । संविधानमा प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष राजीनामा दिने व्यवस्था छ ।
कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव विचाराधीन रहेकै बेला सर्वोच्च अदालतले गएको शुक्रवार त्यसलाई अघि नबढाउन र कार्कीलाई प्रधानन्यायाधीशका रूपमा काममा फर्कन आदेश दिएको थियो ।
त्यो आदेशसँगै कार्की आज सर्वोच्चमा उपस्थित भइन् । तर उनले आफ्नै इजलास तोकिनन् । उता सरकार र संसद्ले अब के गर्छन् भन्ने व्यापक कौतूहलका बीच सभामुख ओनसरी घर्तीले महाअभियोग संसद्को विशेषाधिकार भएको भनाइ सार्वजनिक गर्दै वार्ताबाट समाधान हल होस् भन्नेमा आफूहरू रहेको बताइसकेकी छन् ।
स्रोतका अनुसार, प्रधानन्यायाधी कार्कीलाई बिदा बस्न या राजीनामा दिन लगाउने शर्तमा सभामुखको नरम भनाइ आएको हो । यसअघि आज बिहान सभामुखले महाअभियोग विचाराधीन रहेकै बेला काममा फर्कन नमिल्ने आशयको पत्र प्रधानन्यायाधीश कार्कीलाई लेख्ने तयारी गरेकी थिइन् ।
तर प्रधानन्यायाधीशले आज एक दिन मात्र काम गर्ने, भोलिदेखि या त बिदा बस्ने या राजीनामा दिने शर्तमा सहमति बनेको स्रोतको दाबी छ ।