
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य शुरू भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत चार एजेण्डा तय गरेर छलफल शुरू गरेको छ ।
आइतवारको बैठकमा स्थायी कमिटी बैठकको सुझावअनुसार मन्त्रिपरिषद् पुनर्गठनको छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
विभिन्न मापदण्डबारे छलफल भएको उनले बताए ।
‘मन्त्रिपरिषद्को पुनर्गठन गर्ने स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले नीतिगत रूपमा सुझाव दिएको छ । त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौँ । आवश्यक परे त्यसबारे पनि छलफल गर्छौं,’ श्रेष्ठले भने ।
भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । सचिवालय बैठक सोमवार दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले बताए ।