
नेपाल कम्युनिस्ट पार्टी नेकपाले १० दिनभित्र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको नेकपा सचिवालय बैठकले १० दिनभित्र सांगठनिक एकीकरणको ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई जिम्मा लगाएको हो ।
‘पार्टी एकताको सन्दर्भमा सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयमा पेश गर्ने निर्णय भएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएपनि विभिन्न संगठनको एकता प्रक्रिया बाँकी छ ।
नेकपाले आगामी चैत्र २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।