२२ जेठ २०८३, शुक्रबार

जैमिनीमा गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन

असोज १०, २०७७
जैमिनीमा गर्भवतीका लागि ‘ग्रामीण भिडियो एक्सरे’ सेवा सञ्चालन
प्रतिकात्मक तस्वीर

बागलुङको जैमिनी नगरपालिकाले गर्भवती महिलाका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सञ्चालनमा ल्याएको छ । 

टाढाको ग्रामीण क्षेत्रबाट नगरपालिका आउन नसक्ने गर्भवती महिलालाई सहज रूपमा भिडियो एक्सरे सेवा उपलब्ध गराउन यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कुश्मीशेरा बजार तथा टाढाका कुनै पनि स्वास्थ्य संस्थामा जान नसकेको अवस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीले गाउँघरमा नै पुगेर गर्भवती महिलालाई भिडियो एक्सरे सेवा प्रदान गर्नेछ । 

पहिलो चरणमा नगरपालिका–३ स्थित उपल्लो दमेक, वडा नम्बर ७ स्थित जैदी, वडा नम्बर ८ स्थित छिस्ती र वडा नम्बर १० स्थित रांखानी स्वास्थ्य संस्थाबाट यो सेवा सञ्चालनमा ल्याएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

यसअघि नगरपालिका गर्भवती महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराले मात्रै ‘भिडियो एक्स–रे’ सेवा प्रदान गर्दै आएको थियो । 

कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शसर्त अनुदान १ लाख र नगरपालिकाको ३ लाख गरी कूल ४ लाख वजेट विनियोजन गरिएको छ । विगतको तुलनामा अत्याधिक महिलाहरु ग्रामीण भिडियो एक्सरे सेवामा सहभागी भएका छन् । असोजको पहिलो सातादेखि कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमअन्र्तगत हालसम्म ४५ जना गर्भवती महिलाले सेवा प्राप्त गरेका छन् । 

‘सबैको पहुँचमा सूचना नपुगेको पनि हुन सक्छ,’ स्वास्थ्यकर्मी सुनिता चालिसे भनिन्, ‘यो सेवा प्रभावकारी हुने देखियो, यसप्रति धेरै गर्भवती महिला उत्साहित हुनुहुन्छ ।’ गर्भवती महिलाले ४ पटक गर्भ जाँच गर्नुपर्छ । स्वास्थ्य शाखाले हरेक ३ महिनामा घुम्तीसेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

गाउँघरमा यो सेवा नहुँदा यहाँका महिलालाई निकै समय र पैसा खर्च गरेर गर्भ जाँच गराउन बुटवल, पोखरा तथा धौलागिरी अञ्चल अस्पताल बागलुङमा जानुपर्ने बाध्यता थियो । स्थानीय स्वास्थ्य चौकीमा नियमित रूपमा गर्भ जाँच गराउने महिला पनि भिडियो एक्सरे सेवामा सहभागी हुने भएको छ । गर्भमा रहेको बच्चाको स्वास्थ्य अवस्था थाहा पाउन भिडियो एक्स–रे गर्न टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुशी लागेको जैमिनी–८ छिस्तीकी गर्भवती रमादेवी रेग्मीले बताइन् ।

‘वर्षायाममा गाउँको बाटो अप्ठ्यारो, कोरोनाको डर, बागलुङ बजार कसरी जानेहोला भन्ने चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘अहिले गाउँकै स्वास्थ्य चौकीमा यो सेवा लिन पायौं । निकै सहज भयो, पैसाको बचतसँगै जोखिम पनि मोल्नुपरेन ।’ 

salt training

कमेन्ट गर्नुहोस्