२१ असार २०८३, आइतबार

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम !

असोज १२, २०७७
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम  !

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ। हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन्। 

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ। त्यसपछि तेस्रोमा माल्दिभ्स छ। त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ।  त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै  डिस्चार्ज भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधि प्रयोग गरिरहेको हुन सक्ने बताउँछन्। ‘ बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन्। त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ’, डा. मरासिनी भन्छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल उपचारलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएको बताउँछन्। ‘रोग लाग्नबाटै जोगाउने कार्यलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्छ’, डा. प्याकुरेल भन्छन्, ‘संक्रममण भइहाल्यो भने पनि तुरुन्तै उद्धार गरी उपचारमा पहुँच पु¥याउनुपर्छ।’ 

कसरी बढे सक्रिय संक्रमित ? 

सीमावर्ती तराईका जिल्लाबाट काठमाडौं उपत्यकामा निर्बाध आवतजावत भइरहेकाले सक्रिय संक्रमित बढिरहेको विज्ञ बताउँछन्। लक्षणविहीन संक्रमितबाट पनि अन्यलाई संक्रमण भइरहेको छ। भारतबाट स्वदेश फिर्ती र तराईका जिल्लाबाट काठमाडौं निर्बाध आवतजावत भइरहेकाले सक्रिय संक्रमितहरू बढेको डा. मरासिनीको ठम्याइ छ। 

सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ। जुन २५.९ प्रतिशत हो। त्यसपछि सार्क मुलुकमध्ये भुटानमा २४.७, बंगलादेशमा २३.७, भारतमा १६.३, अफगानिस्तानमा १३.१, माल्दिभ्समा १३.०, श्रीलंकामा ५.२ र पाकिस्तानमा २.५ छ। 

मन्त्रालयका अनुसार आइतबार मात्रै मुलुकभर ५ सय २४ महिलासहित १ हजार ५ सय ७३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा २ सय ९४ महिलासहित ८ सय ९ जना छन्। कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ। 

अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दो 

असोज दोस्रो सातासम्म कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक औसत ८ जना हाराहारी छ। मुलुकभर आइतबार कोरोनाबाट एक महिलासहित १० जनाको ज्यान गएको छ। असोज १ देखि १० गतेसम्म ७७ जनाले ज्यान गुमाएका छन्। 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली विगतमा बाहिरी मुलुकबाट आएका युवामा कोरोना देखिएकाले मृत्युदर न्यून भएको सुनाउँछन्। ‘संक्रमणदर बढेको छ। संक्रमित हुने वृद्धवृद्धाको संख्या पनि उच्च छ’, कार्यकारी प्रमुख डा. ज्ञवाली भन्छन्, ‘त्यसैले रोग प्रतिरोधात्मक क्षमता न्यून भएका वृद्धवृद्धालाई निको बनाउने चुनौती छ।’

अन्य मुलुकझैं नेपालमा पनि कोरोना संक्रमितका लागि विभिन्न उपचार र विधि अपनाइएको छ। रेमडेसिभिर र प्लाज्मा थेरापीसहित अन्य आयुर्वेदिक औषधि पनि सेवन गराइएको छ। तापनि, मृत्युदर सार्क मुलुकमध्ये नेपालमा उच्च देखिएको छ। 

नेपालमा एक महिनाअघि कोरोनाबाट हुने मृत्युदर ०.५० प्रतिशत थियो। अहिले  ०.६ प्रतिशत छ। भारतमा एक महिनाअघि मृत्युदर १.८४ प्रतिशत थियो। अहिले १.६ प्रतिशत छ। श्रीलंकामा ०.४ प्रतिशत छ। त्यहाँ एक महिनाअघि ०.४० प्रतिशत थियो। सार्क मुलुकमध्ये भुटानमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

नेपालमा सक्रिय र गम्भीर खालका बिरामी बढेका कारण मृत्युदर पनि बढेको विज्ञको दाबी छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम नेपालका ज्येष्ठ नागरिक कुनै न कुनै दीर्घरोगले पीडित भइरहेकाले कोरोना संक्रमणपछि निको पार्न कठिन हुने बताउँछन्। ‘कोरोना संक्रमणपछि निमोनिया भएर ज्यान गुमाएका युवाहरू न्यून छन्’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. बम भन्छन्, ‘लामो समयदेखि दम भएका वा मिर्गौला बिग्रेका व्यक्तिको बढी मृत्यु भएको छ। लामो समयदेखि कलेजो, मुटुजस्ता दीर्घ रोगको औषधि सेवन गरिरहेका वृद्धवृद्धाको पनि ज्यान गएको छ।’ 

रोग प्रतिरोधात्मक क्षमता न्यून भएका कारण पनि नेपालमा निको हुने दर घट्न पुगेको चिकित्सकको भनाइ छ। एक महिनाअघिसम्म नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च भएको बखान गर्नेहरू धेरै थिए। निको हुने दर पनि उच्च थियो। स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले भनेका थिए,  ‘सार्क मुलुकमध्ये नेपालमा कोरोना संक्रमणबाट निको हुने दर उच्च छ।’ अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्