
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा जोरबिजोरको नियम उल्लंघन गर्ने ११ सय सवारी साधनलाई कारवाही गरेको छ ।
पछिल्लो समयमा कोरोना भाइरसको महामारी बढ्दै गएको समयमा जोरबिजोर प्रणाली उल्लघंन गर्ने मोटरसाइकल, कार, बसलगायतलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको हो ।
बिहानदेखि दिउँसो १२ बजेसम्ममा १ हजार १ सय सवारी साधनलाई कारवाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।
‘पछिल्लो समयमा जोरबिजोर प्रणाली उल्लघंन गर्ने सवारी साधनको संख्या बढेकाले हामीले निगरानी बढाएको हौं,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।
महाशाखाले उपत्यकामा चेकिङ प्वाइन्ट बढाएर सवारी साधनको चेकजाँच बढाएको छ । जोरबिजोर उल्लघंन गर्ने सवारी साधनलाई २ घण्टा होल्ड गरेर जुन ठाउँबाट आएको हो त्यही ठाउँमा पठाउने गरेको महाशाखाले जनाएको छ ।