
ब्राजिलको एक सुपरमार्केटमा सामान राखिएका अग्ला तखताहरू एकपछि अर्को गरी लड्दै जाँदा थिचिएर एक कामदारको मृत्यु भएको छ ।
शुक्रवार राति भएको उक्त दुर्घटनामा कर्मचारी र ग्राहक गरी आठजना घाइते भएका छन् । घटना उत्तरी ब्राजिलको साओ लुइसमा रहेको म्याटियुस आटाकारेजो मिक्स सुपरमार्केटमा भएको हो ।
मृतक २१ वर्षीया एलेन डी ओलिभिएरा रोड्रिगेज हुन् । उनी उक्त सुपरमार्केटमा विगत तीन महिनादेखि काम गरिरहेकी थिइन् । उनले तखतामा सामान राख्दै गर्दा तखता लड्यो अनि थिचेर उनको मृत्यु भयो ।
अन्य घाइतेहरूलाई अस्पताल लगेर उपचार गरिएको छ । उपचारपछि उनीहरू घर गएका छन् ।
घटना राति सबा ८ बजे भएको हो र त्यतिखेर मानिसहरूको भीडभाड थियो ।
सीसीटीभीमा धातुले बनेका तखताहरू एकपछि अर्को लडेको देखिन्छ । सबै तखताहरूमा भरिभराउ सामान थिए ।
कर्मचारी र ग्राहकहरू चर्को आवाज सुनेपछि ठाउँको ठाउँ रोकिएका थिए । त्यसपछि सबैजना आत्तिए र बाहिरतिर दौडिए ।
दुर्घटना कुन कारणले भएको भन्ने बारेमा कुनै सूचना छैन तर सामान उठाउने ट्रकले छोएकाले दुर्घटना हुन पुगेको आशंका गरिएको छ ।
स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूका साथै प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् ।