०८ असार २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा पसल राख्न विचौलियाको आर्थिक चलखेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा पसल राख्न विचौलियाको आर्थिक चलखेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा पसलका लागि खोलिएका शटरहरू भाडामा लिन आर्थिक चलखेल शुरू भएको छ ।

लामो समयदेखि सरकारलाई भाडा नतिर्ने पसल व्यवसायीले विमानस्थलको आगमन कक्षमा रहेका सबै व्यवसाय नयाँ बनेको भवनमा सार्ने तयारी गरिरहेको समयमा व्यापारीहरू व्यवस्थापन पक्षलाई प्रलोभनमा पार्ने खेलमा लागेको हुन् ।

विमानस्थलका एक कर्मचारीले लोकान्तरलाई दिएको जानकारीअनुसार केही व्यापारीले आर्थिक चलखेल गरेर भन्सार कार्यालयसँगै जोडिएको ठाउँमा शटर हत्याउने मनासयमा रहेका छन् ।

‘नयाँ आगमन क्षेत्र तथा पार्किङ क्षेत्रको भवनमा सबै व्यवसाय सार्ने तयारी भइरहेको बेलामा केही व्यापारीले आर्थिक भन्सारसँगै जोडिएको क्षेत्रमा पसल राख्न खोजेका छन्,’ विमानस्थलका एक कर्मचारीले बताए ।

नयाँ आगमन क्षेत्र प्रवेश गर्ने अन्तिमविन्दु भन्सारको क्षेत्र हो, त्यही क्षेत्रको कुनामा रहेको यती मनि एक्सेचेन्ज, एनसेल र एनटीसीको सिम र रिचार्ज पाउने पसलहरु छन् ।

ती कर्मचारीका अनुसार संजय पराजुली र अच्युत हाडाले सञ्चालन गरेका मनी एक्सचेन्ज तथा अन्य पसलहरू भन्सार कार्यालय वरिपरी राख्न चलखेल गरिरहेका छन् ।

पसल राख्न दिने जिम्मा विमानस्थल व्यवस्थापनको हो । यात्रुहरू भन्सार क्षेत्रमा आउने भएकाले भन्सारसँगै आफ्नो पसल राख्न खोजेको आरोप छ ।

यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार विमानस्थलभित्र पसल कुन ठाउँमा राख्न दिने नदिने भन्ने विषय विमानस्थलको नभएको बताए ।

‘कसले कहाँ पसल राख्छ हाम्रो हातको कुरा होइन,’ उनले भने, ‘त्यो आइएमएसले हेर्छ । सबै उसको हातको कुरा हो ।’

पछिल्लो समयमा विमास्थलबाट आउने यात्रुहरु अहिले सिधै नयाँ पार्किङस्थलमा जाने व्यवस्था मिलाइएको कर्णले बताए । उनका अनुसार विमानस्थलको नयाँ भवन बनाउने तथा त्यसको व्यवस्थापनको जिम्मा आइएमएसले लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्