
दोस्रो नेपाल–भारत फ्रेन्चाइज लगानी सम्मेलन पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना हुने भएको छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सम्मेलन भर्चुअल माध्यमबाट गरिन लागिएको हो ।
नेपाल फ्रेन्चाइज डटकम र नेपाल उद्योग वाणिज्य महासंघको साझेदारीमा नेपाल स्थित भारतीय राजदूतावासको आयोजनामा सम्मेलन हुन लागेको हो ।
असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म आयोजना हुने सम्मेलनमार्फत नेपाल तथा भारतका १ सयभन्दा बढी प्रतिष्ठित ब्रान्डले प्रदर्शनी गर्ने र सम्मेलनलाई २ हजारभन्दा बढी योग्य लगानीकर्ताले फ्रेन्चाइज, डिलरसिप तथा अनुमतिपत्रलगायतमा व्यवसायिक अवसर खोज्ने महत्वपूर्ण माध्यमका रूपमा उपयोग गरी लाभ उठाउने बताइएको छ ।
सम्मेलनलाई नेपाल–भारतबीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।
गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो फ्रेन्चाइज एक्सपो तथा सम्मेलनको सफलतापछि यसलाई स्थापित कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्यअनुसार दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी ६० ब्रान्ड सहभागी थिए ।