भारतमा राष्ट्रिय कामधेनु आयोगका अध्यक्ष वल्लभभाइ कठिरियाले सोमवार गाईको गोबरबाट बनेको एउटा कम्प्युटर चिपको शुभारम्भ गरेका छन् ।
यसले मोबाइल फोनबाट आउने विकिरणलाई उल्लेख्य मात्रामा घटाउने उनले दाबी गरेका छन् ।
‘हेर्नुस्, यो विकिरण चिप हो । तपाईंले यसलाई मोबाइलमा राख्न सक्नुहुन्छ । यसलाई मोबाइलमा राख्नुभयो भने उल्लेख्य मात्रामा विकिरण घटाउँछ । रोग लाग्न नदिने हो भने यसलाई प्रयोग गर्नुस्,’ कठिरियाले शुभारम्भ समारोहमा बताए ।
अहिले कामधेनु दीपावली अभियान नामक राष्ट्रव्यापी अधियान चलाइँदैछ जसमा गाईको गोबरबाट बनेका उत्पादनहरू प्रवर्द्धन गरिँदैछ ।
यस चिपको नाम गौसत्त्व कवच हो र यसलाई राजकोटमा रहेको श्रीजी गौशालामा बनाइएको हो ।
‘५०० भन्दा बढी गौशालाले यस्ता विकिरणविरुद्धका चिप बनाइरहेका छन् । यिनको मूल्य ५० देखि १०० भारु छ । एकजनाले यसलाई अमेरिकातर्फ पनि निर्यात गर्दैछन् । त्यहाँ यो १० डलरमा बिक्दैछ,’ कठिरियाले बताए ।
कठिरियाले चीनमा बनेको दियो यस दीपावलीमा प्रयोग नगर्न अपील गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इन्डिया अवधारणा र स्वदेशी अभियानलाई प्रवर्द्धन गर्नका लागि चिनियाँ दियो बहिष्कार गर्न उनले अपील गरेका हुन् ।