
मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड असन्तुष्ट बनेका छन् ।
स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ ।
'प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,' प्रचण्डनिकट स्रोतले भन्यो ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बुधवार बिहान करीब ३ घण्टा भेटवार्ता भएको थियो ।
भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनको बारेमा छलफल नभएको स्रोतले दाबी गर्यो ।
गत भदौ २६ गते सम्पन्न नेकपाको पाचौं स्थायी कमिटी बैठकले सरकारका कामकारवाही प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
त्यसयता अध्यक्षद्वयबीच मन्त्रिमण्डल पुनर्गठनकै विषयलाई लिएर धेरैपटक छलफल भयो तर सहमति जुट्न सकेको थिएन ।
प्रचण्ड व्यापक हेरफेर गर्ने मानसिकतामा थिए भने ओली खालि रहेका केही मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने पक्षमा उभिएका थिए ।
आज गरिएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खालि भएको छ ।
उनलाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैसमक्ष राखेका छन् ।
यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् ।
यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।
महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।