काठमाडौं, २७ वैशाख - स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी प्रचारका कार्यक्रमहरु व्यापाक रुपमा भइरहेका छन् । यसैबीच, बुधवार काठमाडौंको दक्षिणकालिमा चुनावी प्रचारमा हिँडेका कांग्रेस र एमालेको जम्का भेट भएको छ । एमाले कार्यकर्ताहरु गाडी तथा मोटरसाइकलमा हिँडिरहेका थिए भने सोही ठाउँमा नेपाली कांग्रेसका कार्यकर्ताहरु चाहिँ चुनावी कार्यक्रम गरिरहेका थिए । नेपाली कांग्रेसको चुनावी सभामा बालबालिकाहरुको समेत प्रयोग गरिएको थियो । निर्वाचन आचार संहिता अनुसार निर्वाचनका बेला चुनावी प्रचारमा बालिबालिका प्रयोग गर्न पाइँदैन । मोटरसाईकलमा कुँदिरहेका एमाले कार्यकर्तालाई देखेपछि कांग्रेसका कार्यकर्ताहरुले 'एमालेको नाराले दुख पाए साराले' भन्दै नारा लगाएका थिए । चुनावी प्रचारमा बृद्धबृद्धा, युवा-युवती, बालबालिका समेतको पनि उपस्थिति रहेको थियो ।