३१ असार २०८३, बुधबार

खुमलटारमा सवाल–जवाफ : प्रचण्ड– गलत गर्नुभयो, कंडेल– ‘संवैधानिक अधिकार प्रयोग गरेका हौं’

खुमलटारमा सवाल–जवाफ : प्रचण्ड– गलत गर्नुभयो, कंडेल– ‘संवैधानिक अधिकार प्रयोग गरेका हौं’

कर्णाली प्रदेश सभा र सरकारमा उत्पन्न राजनीतिक संकटको विषयलाई लिएर असन्तुष्ट समूहका नेताहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रचण्डको निवास खुमलटारमा शुक्रवार बिहान असन्तुष्ट समूहका नेता यामलाल कंडेल लगायतले भेट गरेका हुन् । 

नेता कंडेल, प्रमुख सचेकतको जिम्मेवारी खोसिएका गुलावजंग शाह र नेकपा कर्णालीका सचिव मायाप्रसाद शर्माले प्रचण्डसँग भेटेर कर्णाली प्रदेश सभा र सरकारमा देखिएको समस्याबारे जानकारी गराएका हुन् । त्यस क्रममा प्रचण्ड र कंडेलबीच सवाल जवाफ नै भएको थियो । 

स्रोतका अनुसार प्रचण्डले आफूहरूलाई थाहै नदिई मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेर गलत गरेको बताएका थिए । 

जवाफमा नेता कंडेलले आफूहरूले संवैधानिक अधिकार प्रयोग गरेको बताएका थिए । ‘हामीले संवैधानिक अधिकार प्रयोग गर्दा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु जरुरी थिएन,’ कंडेलको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । तर प्रचण्डले उनीहरूका कुरा गम्भीरतापूर्वक सुनेको र छिट्टै निकास दिने बताए । 

‘असन्तुष्ट समूहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रति आफूहरूको असन्तुष्टि पनि राख्नुभयो र निकासका लागि आग्रह गर्नुभएको छ,’ खुमलटार स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छिट्टै भेटेर निकास दिने तत्परता अध्यक्ष प्रचण्डले पनि देखाउनुभएको  छ ।’

प्रचण्ड र कर्णालीका नेताहरूबीच लामो छलफल भएको थियो । पहिलो संविधानसभाको कार्यकालमा संविधान नबन्ने अवस्था आएपछि कंडेलको नेतृत्वमा सांसदहरूले दबाब अभियान सञ्चालन गरेका थिए । प्रचण्डले सो अभियानलाई समर्थन गरेका थिए । प्रचण्डले प्रदेशको सरकारलाई पहिलो कार्यकाल पूरा गर्न दिनुपर्ने राय राखेका थिए । 

कर्णाली सरकारका मुख्यमन्त्री शाहीलाई हटाउन नेकपा सांसदले संसदीय दलमा हस्ताक्षर गरेपछि त्यो विवाद केन्द्रसम्म आइपुगेको छ । मुख्यमन्त्री शाहीले हिजै प्रचण्डसँग भेटेर आफ्नो कुरा राखेका थिए । 

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले कर्णालीका दुवै पक्षलाई एकै ठाउँमा राखेर निकास खोज्ने भन्दै काठमाडौं बोलाएका थिए । ओली प्रचण्डबीच आजभोलिमै यसबारे छलफल हुने नेकपा स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्