
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मीनेन्द्र रिजालले संसदीय दलको तर्फबाट निर्णय गरेर कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ताको निर्णय गर्न प्रस्ताव गरेका छन् । कोरोनाकालमा सांसदले दशैं भत्ता लिएको समाचार पहिलो पटक शुक्रवार लोकान्तर डटकमले प्रकाशित गरेपछि आइतवार केही सांसदले फिर्ता गरिसकेका छन् ।
प्रतिनिधि सभा सदस्य रिजालले आइतवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै एक एक जनाले भन्दा पार्टीले निर्णय गरेर भत्ता फिर्ताको प्रस्ताव गरेका हुन् । ‘दशैं भत्ता एक(एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्बजनिक गर्ने भन्दा संसदीय दलकै तर्फबाट नेपाली कांग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं। पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनता माझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔँ। मैरो आग्रह र निर्णय यही अनुरुप हुनेछ,’ रिजालले भनेका छन् ।
आइतवार कांग्रेस सांसद बालकृष्ण खाण र गगन थापाले दशैं भत्ता वापतको रकम फिर्ता गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपा सांसद भीम रावल, सूर्य पाठक लगायतले पनि रकम फिर्ता गरेका छन् । जनार्दन शर्मा र देवेन्द्र पौडेलले विरामी तथा बाढी पीडितलाई दिने बताएका छन् ।