
ब्रेक फेल भई भीरबाट स्कार्पियो गाडी खस्दा आइतबार कटारीमा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डअन्तर्गत कटारी–१४ भदौरे भीरमा भएको दुर्घटनामा घाइते तीन जनाको अवस्था पनि गम्भीर छ । ओखलढुंगाको मानेभन्ज्याङ–९ माधवपुरका ४६ वर्षीय रामबहादुर सार्की, ४० वर्षीय खड्गबहादुर सार्की, ३५ वर्षीया नरिमाया सार्की, २७ वर्षीय कर्मे भनिने कर्णबहादुर सार्की र उदयपुरको कटारी–८ शिरिसेका ३० वर्षीय महेशबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा मानेभन्ज्याङकै १८ वर्षीया कल्पना सार्की, ३१ वर्षीया कुमारी सार्की र चालक रूपन्देहीको तिलोत्तमा–४ का २८ वर्षीय पवन खड्का घाइते छन् । कटारी अस्पतालले रिफर गरेपछि कल्पना र चालक खड्कालाई थप उपचारका लागि विराटनगर पठाइएको छ । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जाँदै गरेको बा२०प ७१७१ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।
उदयपुरका एसपी भीमबहादुर दाहालले ब्रेक फेल भएर स्कार्पियो भीरबाट खसेको बताए । सार्की परिवार भारतको लद्दाखबाट दसैँका लागि घर आउँदै थियो । भारतबाट घर आउने
क्रममा भैरहवाको होल्डिङ सेन्टरमा बसेका उनीहरूले रूपन्देहीबाट स्कार्पियो रिजर्भ गरेर आएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।