
कोरोना महामारीका कारण ६ महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज घटस्थापनाका दिनबाट पर्यटकका लागि खुला गरिएको छ ।
दसैं र तिहारको समयमा बढी पर्यर्टक भित्रिने भएकाले व्यवसायीले निकुञ्ज खोल्न माग गरेका थिए । स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था मिलाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए ।
‘हाललाई जंगल ड्राइभ (सफारी) र जंगल वाक गर्न मात्रै अनुमति दिइएको छ,’ उनले भने । निकुञ्जभित्र हुने र्याफ्टिङ, हात्ती सफारी, फिसिङ भने खुला नगरिएको उनले बताए । पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीन जना मात्र जानुपर्ने व्यवस्था गरिएको छ ।
निकुञ्जको टिकट काउन्टरमा कर्मचारीले अवलोकन गर्न आउनेलाई स्वास्थ्य मापदण्ड अपनाएर पठाउने भएका छन् । यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुला भएकामा खुसी व्यक्त गरेका छन् । अब विस्तारै पर्यटक भित्रिने आशा पलाएको पर्यटन व्यवसायी एवं गैंडा क्याम्पका सञ्चालक रामजी थापाले बताए ।
निकुञ्ज मुख्यालय आसपास पर्यटकका लागि सानाठूला २४ होटल सञ्चालनमा छन् । यहाँका प्रायः होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेका छन् । निकुञ्जमा सहजै बाघ हेर्न पाइन्छ भन्दै पर्यटक भित्रिने गर्छन् । विश्वव्यापी कोरोना महामारीले थला परेको पर्यटन उद्योगमा यसको ठूलो असर परेको छ ।
विदेशी पर्यटकको तुलनामा यहाँ आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छ । बर्दिया राष्ट्रिय निकुञ्जले सर्वसाधारणका लागि निकुञ्ज प्रवेश नखोल्दा व्यवसायी आर्थिक संकटमा परेको थापाको भनाइ छ । पर्यटकका लागि यहाँका होटलले १५ देखि २५ प्रतिशतसम्म विशेष प्याकेजसहित छुटको व्यवस्था गरेका छन् ।
दसैंको आवागमनसँगै यहाँ आन्तरिक पर्यटक आउने वातावरण बन्ने बबई रिसोर्टका सञ्चालक धर्मराज घिमिरेले बताए । कोभिडका कारण यस वर्ष विदेशी पर्यटक आउने सम्भावना छैन । यहाँका पर्यटन व्यवसायी भने आन्तरिक पर्यटककै भरमा छन् । निकुञ्ज प्रवेशका लागि खुला नहुँदा यहाँ आउने पर्यटक निराश भएको पर्यापर्यटन मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईको भनाइ छ ।
लामो समयदेखि बन्द रहेको निकुञ्ज खुलेपछि केही राहत महसुस भएको उनले सुनाए । हरेक वर्ष दसैंअघि बर्दिया राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकको आवागमनले यहाँका पर्यटन व्यवसायीलाई भ्याइनभ्याइ हुने गर्थ्यो । दसैं आउनु एक महिनाअघिदेखि नै चहलपहल बढ्ने गरेकामा यस वर्ष भने सुनसान छ । कान्तिपुर दैनिकमा कमल पन्थीले खबर लेखेका छन् ।