१० साउन २०८३, आइतबार

कांग्रेसको प्रश्न - महामारीमा नगर्ने भए उपचार, किन चाहियो सरकार ?

कात्तिक ३, २०७७
कांग्रेसको प्रश्न - महामारीमा नगर्ने भए उपचार, किन चाहियो सरकार ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महामारीमा नागरिकले उपचार नपाउने भए सरकार किन चाहियो भनी प्रश्न उठाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्णय सच्याउन चेतावनी दिएका छन् ।

'कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेको वर्तमान सरकारले परिक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैह्रजिम्मेवार व्यवहारका रूपमा लिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेमडिसिभरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

'उपचारको दायित्वबाट पन्छिए पश्चात् त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको छ,' उनले लेखेका छन् ।

सांसद विकास कोष, दशैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको शर्माले उल्लेख गरेका छन् । 'कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिंदै नेपाली कांग्रेस कोरोना परिक्षण र उपचार निःशुल्क रूपमा गरेर महामारीबाट जनतालाई जोगाउन बिशेष संवेदनशीलताका लागि प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्