३० जेठ २०८३, शनिबार

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि अन्तर्क्रिया हुने

कात्तिक ३, २०७७
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि अन्तर्क्रिया हुने

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका सबै राजनीतिक पार्टीका शीर्ष नेताहरूसँग भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । 

मंगलवार दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलका प्रतिनिधिसँग सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले अन्तर्क्रिया गर्नेछ । 

सीपीसीले सबै राजनीतिक दलका प्रतिनिधिसँग एकैपटक छलफल गर्न लागेको यो पहिलो पटक हो । स्रोतको दाबीअनुसार अन्तर्क्रियामा ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)का विषयमा चिनियाँ पक्षले आफ्नो कुरा राख्नेछ र नेपालका राजनीतिक दलहरूबाट प्रतिबद्धता खोज्नेछ ।

पछिल्लो समय चीनसँग गरिएका सम्झौताहरू कार्यान्वयन गर्न नेपालले आलटाल गर्न खोजेको बुझाइ चीनको रहेको छ । चीनले सम्झौता कार्यान्वयनमा नेपालका सबै दलका नेताहरूको संयुक्त प्रतिबद्धता यही कारण खोजेको हुनसक्ने अनुमान मिटिङमा सहभागी हुन निम्तो आएका एक नेताले लोकान्तरलाई बताए ।  

एक वर्षअघि सीपीसीले नेकपासँग होटेल याक एण्ड यतिमा अन्तर्क्रिया गरेको थियो । अन्तर्क्रियामा चीनमा कम्युनिस्ट पार्टीको संरचना, समृद्धिको चिनियाँ मोडेल लगायतका प्रस्तुतीहरू चीनका तर्फबाट भएका थिए । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअघि गरिएको अन्तर्क्रिया कार्यक्रमपछि नेकपाले सी विचारधारा अँगाल्न खोजेको टिप्पणी भएको थियो । 

त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप भएको भन्दै सार्वजनिक असन्तुष्टि नै व्यक्त गरेको थियो । तर भोलि हुने अन्तर्क्रियामा भने कांग्रेसका तर्फबाट प्रतिनिधिहरू सामेल हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्