०३ असार २०८३, बुधबार

दशैंको मुखैमा जिन्दगीका सपना बोकेर विदेशतिर

कात्तिक ५, २०७७
दशैंको मुखैमा जिन्दगीका सपना बोकेर विदेशतिर

स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैंको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।

लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैंको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैं मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।

यस्तै मध्येका छन् पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट ३ महिनाको घर बिदामा आएका सुवेदी गत जेठमै जानुपर्ने हो । तर कोरोनाका कारण उडान बन्द भएर रोकिए । अब उडान खुल्यो, बल्ल जान थालेका हुन् ।

१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहेका उनले भने, ‘कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैं नमानी जाने रहर त कहाँ थियो र ! भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?’

उनीजस्तै कुवेत जान श्रम हिँडेका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैं छोडेर हिँडेको जानकारी दिए । ‘भिसाको म्याद पनि सकिँदैछ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको,’ उनले निराश हुँदै भने, ‘हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र ! त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैं छोडेर ।’

गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झण्डै ४ महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ ।

गत असारदेखि असोजसम्म १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘दशैं, तिहारको समयमा श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ,’ उनले भने, ‘कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुनसक्छ ।’

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलका अनुसार असोजमा मात्रै ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा २ हजार ४९४, साउनमा २ हजार ९७९ जना र भदौमा १ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए ।

कार्यालयका अनुसार असोजमा श्रम स्वीकृति लिएकामध्ये सात हजार ६७६ पुरुष र ४२१ महिला छन् । ४ हजार ५०५ जनाले पुनः श्रम स्वीकृति, ४०१ जनाले वैधानीकरण गरेर र ५१६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।

असोजमा वैदेशिक रोजगारीमा जानलाई श्रम लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि २ हजार ८३१ जना छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) का लागि २ हजार ६५१ जना, कतारका लागि १ हजार ३५१ जनाले श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्