
धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न थप १ जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–१० का २० वर्षीय रोहित रानालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले लोकान्तरलाई बताए ।
घटनामा संलग्न १ जना अझै फरार रहेको उनले बताए । ‘फरारको खोजी कार्य जारी छ,’ उनले भने, ‘अभियुक्तको म्याद थप गरेर बयान लिने र थप अनुसन्धान प्रक्रिया अघि बढाइने छ ।’
प्रहरीले घटनामा संलग्नता पुष्टि भएको भन्दै ७ जनालाई मंगलवार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका व्यक्तिमा धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल राना छन् ।
आरोपीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको हो । असई विकले केराउ तस्करीमा अवरोध गर्न खोजेपछि हत्या गरेको बयान आरोपीहरूले प्रहरीमा दिएका छन् ।