१९ असार २०८३, शुक्रबार

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्–  वृहत्तर गुरुयोजना तयार भएको सुन्दा खुशी लाग्यो

कात्तिक ५, २०७७
रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्–  वृहत्तर गुरुयोजना तयार भएको सुन्दा खुशी लाग्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन् ।

गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो ।

भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले ले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् ।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्त्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।

उनले प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र  मन्दिरले हाम्रा पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताइन् ।

उनले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिइन् ।

“पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ”, राष्ट्रपतिले भनिन् ।  

रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदै राष्ट्रपति भण्डारीले विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍यायाएको र विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्‍याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गरिन् ।

सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उनले व्यक्त गरिन् ।

पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गरिन् । रासस

salt training

कमेन्ट गर्नुहोस्