काठमाडौं, २८ वैशाख– मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले वर्तमान संविधानलाई ध्वस्त पार्न आफूहरु चुनावमा सहभागी भएको खुलासा गरेका छन् । आज (बिहीबार) काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन आयोजना गरेर गजुरेलले आफ्नो पार्टी चुनावमा आउनुको रहस्य खोलेका हुन् ।
‘संविधान सिध्याउन चुनावमा भाग लिएका हौं,’ पत्रकार सम्मेनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धिक्कार्दै गजुरेलले भने, ‘हामीले चुनावमा सहभागी हुँदा प्रचण्ड खुसी भए । उनलाई के थाहा हामी संविधान ध्वस्ता बनाउन आएका हौं भनेर ।’
लेलिनले भनेजस्तै चुनावमा भाग लिनु भनेको सुंगुरको खोरमा पुस्न जस्तै भएको बताउने गजुरेलले क्रान्ति उभारमा नहुँदा चुनावलाई उपयोग गर्न खोजेको दावी गरे ।
यो संविधानले देशलाई सिक्किमीकरण गर्ने गजुरेलको आरोप थियो । चुनावमा भाग लिन्छु भन्ने दललाई समेत चुनाव निह्न नदिएको प्रसंग कोट्याउँदै गजुरेलले यो लोकतन्त्र नभइ लुटतन्त्र भएको आरोप पनि लगाए ।
गजुरेल स्थानीय चुनावका लागि क्रान्तिकारी माओवादीसहित विभिन्न पार्टीबीच तालमेल भएर बनेको देशभक्त जनतान्त्रिक मोर्चा नेपालका संयोजक समेत हुन् ।