२७ जेठ २०८३, बुधबार

उद्यमी शिक्षक : सरकारको स्थायी जागिरले मानेन मन, बचेखुचेको समयमा उदाहरणीय कृषि फार्म

कात्तिक १५, २०७७
उद्यमी शिक्षक : सरकारको स्थायी जागिरले मानेन मन, बचेखुचेको समयमा उदाहरणीय कृषि फार्म

पेशाले शिक्षक भएपनि पाल्पाको तिनाउ गाउँपालिका २ दोभान (जमुने) का पदम शाक्यको रहर सानो उमेरदेखि व्यावसायिक कृषि कर्म गर्ने थियो । 

बुवाले कञ्चनपुरमा कपास खेती गरेदेखि नै पदमको रहर कृषि कर्ममा जागेको हो । तर, पदमका बुवा दलबहादुर शाक्यले कृषक नभई एक सफल शिक्षक बन्नुपर्छ भन्थे । त्यसैले पनि छोरालाई राम्रो शिक्षादिक्षा दिए ।

कृषिमा आफ्ना नङ्ग्रा खियाएर दलबहादुरले पदमलाई पढाए । लगनशील पदम ०४३ सालमा कञ्चनपुर त्रिभुवनबस्तीस्थित पुनर्वास माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि पढ्न बुटवल आए । बुटवलमा पढ्न आएपनि उनी पाल्पाको दोभानमा बस्थे । दोभानबाटै बुटवल बहुमुखी क्याम्पस आउजाउ गर्थे । 

क्याम्पसमा पढ्दै गर्दा उनले ०५१ सालमा अस्थायी रूपमा दोभानमै रहेको दोभान माध्यमिक विद्यालयमा अध्यापन गराउन थाले । उनले ०६० सालसम्म त्यहीँ पढाए । त्यसपछि स्थायीका लागि शिक्षक सेवा आयोगबाट आवेदन  खुल्यो । उनले परीक्षा दिएपछि निमावि तहमा ०६० सालमा नाम निकाले । त्यसपछि उनी अहिले पनि प्राध्यापन पेशामै छन् । 

‘अस्थायी भएकाले पनि बुवाको चित्त बुझेको थिएन, त्यसैले स्थायीमा नाम निकाल्नुपर्छ भन्नुहुन्थ्यो, मेहनत पनि गरियो र नाम निस्कन सफल भइयो,’ पदम भन्छन्, ‘त्यसपछि मात्र बुवाको सपना साँच्चै पूरा भएको आभास भयो ।’

बुवाको सपना पूरा गरेपछि पदम आफ्नो सपना समेत जसरी पनि पूरा गर्ने ध्यानमा थिए । एक मन व्यवसाय गर्ने पनि सोचे । व्यवसायको शुरूआती अनुभव लिने भन्दै बुटवलमा ०६३ साल देखि ०७१ सालसम्म फर्निचर उद्योग शुरू गरे । दैनिक शिक्षक पेशा गर्नु नै थियो । अनि समाल्नुपर्ने फर्निचर उद्योग । उनलाई कतैकतै आफैंलाई चित्त नबुझे जस्तै लाग्यो । त्यसपछि उनलाई लाग्यो फर्निचर उद्योग होइन म आफ्नै कृषि उद्यममा रमाउँछु । त्यसलगत्तै उनी कृषि कर्ममा लागे । १ रोपानी क्षेत्रफलमा तरकारी खेती, बाख्रा पालन र कुखुरा पालन थाले । सानो मात्रामा शुरू गरेको उनको व्यवसाय अनुसन्धानका लागि थियो । कुखुरा, बाख्रा, माछा पालन, तरकारी खेती, अध्ययान र अनुसन्धान गर्नेहरूका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर अनुसन्धानमा लागे । फार्ममा पुगेपछि सबै अवलोकन गर्ने गरी एउटा परिकल्पना पनि गरे । त्यसका लागि धेरै जग्गा आवश्यक भएकाले २५ रोपनी जग्गा खरिद गरे ।

त्यसपछि औपचारिक रूपमा १ वर्षअगाडि तिनाउ गाउँपालिका २ दोभान (जामुने) पाल्पामा धौलागिरी एकीकृत प्राङ्गारिक कृषि फार्म हाउस स्थापना गरे । फार्म हाउसमा उनलाई श्रीमती जमुना शाक्यको साथ छ । उनको यो कर्ममा निरन्तर उनले साथ दिइरहेकी छन् । विद्यालय समयमा दिनभर पदम स्कूलमा व्यस्त हुँदा यता फार्म उनै जमुनाले समाल्ने गर्छिन् ।

बाग्लुङको बाग्लुङ नगरपालिका ३ मा ०२७ कात्तिकमा बुवा दलबहादुर शाक्य र आमा मनमाया शाक्यको कोखबाट जन्मिएका पदम शाक्यको बाल्यकाल बाग्लुङमै बित्यो । त्यसपछि उनको परिवारको ०३९ सालमा कञ्चनपुरमा बसाई सर्‍यो । कञ्चनपुरमै एसएलसी दिएर थप अध्ययनका लागि बुटवल आए । स्थायी रूपमा पाल्पा दोभानमा बस्न थाले । 

बुटवलको सिद्धेश्वर माध्यमिक विद्यालयका स्थायी शिक्षक पदम शाक्य अहिले तिनाउ गाउँपालिका वडा नं. २ दोभान (जामुने)को फार्ममा व्यस्त छन् । सरकारी विद्यालयका स्थायी शिक्षक भएपनि पदम शाक्यको लक्ष्य एक सफल व्यवसायिक कृषि उद्यमी बन्ने छ । शिक्षण पेशा अंगालेका कारण पनि उनले फार्मलाई विद्यार्थीहरूका लागि अध्ययन र अनुसन्धान गर्ने थलोका रूपमा विकास गरिरहेका छन् । त्यति मात्र हैन कृषि पर्यटनकै रूपमा फार्मलाई विस्तार समेत गरेका छन् । उनको फार्म अनुसन्धान गर्न चाहनेदेखि घुम्नेहरूका लागि आर्कषक गन्तव्य बन्न सक्छ ।

शाक्यले आफ्नो फार्ममा रिसोर्ट पनि बनाएका छन् । अध्ययान र अनुसन्धानका लागि आउने विद्यार्थी एवं आन्तारिक र बाह्य पर्यटकलाई लक्षित गर्दै उनले ४० बेडको रिसोर्ट बनाएका हुन् । रिसोर्टमा वातावरण अनुकूल कोठाहरू तयार पारेका छन् । पाल्पाको रानीमहलको डिजाइनमा तयार गरिएको रिसोर्ट साँच्चै आकर्षक छ । यो रिसोर्ट कृषि प्राविधिक पढ्ने विद्यार्थीका लागि अध्ययान गर्ने थलेको रूपमा प्रयोग गर्ने गरी उनले तयार गरिरहेका छन् । ‘किताबमा १ वर्ष पढ्ने कोर्षको ४/५ दिनमै प्राटिकल रूपमा ज्ञान हाम्रो फार्ममा आउनेले पाउनेछन्,’ उनले भने,  ‘पढेर र घुमेर जाने थलोको रूपमा फार्म विकास हुँदैछ ।’

शाक्यको धौलागिरी एकीकृत प्रांगारिक कृषि फार्म हाउसमा १ करोड लगानी भइसकेको छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा अग्र्यानिक मल, तरकारी उत्पादन, टनेल निर्माण, बाख्रा, कुखुरा, माछा पालन, फलफूल खेतीसँगै रिसोर्ट सञ्चालनमा छ । त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार गर्दा १ करोड रुपैयाँ खर्च भएको शाक्य बताउँछन् । कागती, आप र अन्य फलफूलका बिरुवाहरू रोपेका उनले त्यसैमा बाउन्ड्री गरेर खुला रूपमा बाख्रापालन गरेका छन् ।

त्यहीँभित्रै लोकल कुखुरा पालन गरेका छन भने ४ रोपनी क्षेत्रफलमा माछा पोखरी तयार गरी ८ हजार माछा पालन गरिरहेका छन् । 

‘त्यहीँ भित्र नै मार्केटिङ हुने गरी रिसोर्टको परिकल्पना गर्‍यौं । रिसोर्टलाई चाहिने आवश्यक सबै तरकारी र मासुजन्य उत्पादन हामी सबै आफंै जोहो गर्छौं, त्यो पनि विषादीरहित,’ उनले भने । अहिले शाक्य कुरिलो खेतीका लागि अनुसन्धान गरिरहेका छन् । फार्ममा छिट्टै कुरिलो लगाउने योजना समेत उनको छ ।

salt training

कमेन्ट गर्नुहोस्