२१ असार २०८३, आइतबार

फरार भएको ३० वर्षपछि पक्राउ परे अभियुक्त

कात्तिक १९, २०७७
फरार भएको ३० वर्षपछि पक्राउ परे अभियुक्त

प्रहरीले ३० वर्षदेखि फरार रहेका कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पञ्चपुरी नगरपालिका–२ सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मंगलवार बर्दियाको बासगढीबाट पक्राउ गरेको हो ।  

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । सुनारका सहोदर ३ दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कूटपिट गरेको मुद्दामा अदालतले फैसला गरेको थियो । 

घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिक रुपले अशक्त भएको बताइएको छ ।  

मानबहादुरसहित २ जना पक्राउ परिसकेका छन् भने १ अझै फरार छन् । अदालतले घटनामा संलग्न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो । फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए । जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चार जनाको टोली खटाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालत समक्ष पठाइएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्