
नेपालको ३ दिने भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी बुधवार काठमाडौं आइपुगेका हुन् ।
भारतीय वायु सेनाको विशेष विमानबाट काठमाडौं आएका सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभूराम शर्माले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । विमानस्थलबाट उनी सोझै सोल्टी होटल पुगेका छन् ।
उनको आगमनको बेला विमानस्थलबाहिर कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।
नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओपचारिक भेटवार्ता गर्नेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाको मानार्थ रथीको उपाधि दिने कार्यक्रम छ ।
नेपाली सेनाले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुने तथा प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । नेपाल–भारत सीमा विवाद बढेको समयमा भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्त्व र चासोका साथ हेरिएको छ ।

