२८ असार २०८३, आइतबार

पोखरामा एकै दिन ६ कोरोना संक्रमितको मृत्यु

कात्तिक १९, २०७७
पोखरामा एकै दिन ६ कोरोना संक्रमितको मृत्यु

पोखरामा गएको २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । तीमध्ये ५ जना पुरुष र १ महिला छन् । यो संख्या कोभिड–१९ बाट पोखरामा एकै दिनमा मृत्यु हुनेमा सबैभन्दा उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–३२ की ४२ वर्षीया महिला संक्रमितको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा ज्यान गएको छ ।

कात्तिक १६ मा संक्रमण पुष्टि भएकी ती महिलामा निमोनिया, मिर्गौला, उच्च रक्तचापको समस्या थियो । यस्तै, पोखरा–२६ का ७३ वर्षीय पुरुषको बुधबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्युभ एको छ ।

गत कात्तिक १५ मा संक्रमण पुष्टि भएका ती पुरुषमा निमोनिया समेत थियो । पोखरा २५ का ५२ वर्षीय पुरुषको पनि बुधबार बिहान सोही अस्पतालमा मृत्यु भयो । उनमा गत कात्तिक १५ मा कोभिड–१९ पुष्टि भएको थियो । उनमा समेत निमोनिया समस्या थियो ।

उता, पोखरा–१६ का ५९ वर्षीय पुरुषको गएराति चरक मेमोरियल अस्पतालमा निधन भयो । उनमा कात्तिक १५ गते संक्रमण देखा परेको हो । पोखरा–१६ कै २८ वर्षीय पुरुषको मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

ती पुरुष गत कात्तिक १६ गते कोरोना संक्रमित भएपछि उपचारार्थ अस्पताल भर्ना भएका थिए । यस्तै, तनहुँ सदरमुकाम व्यास–४ का ७० वर्षीय पुरुषको पोखरामा उपचार क्रममा ज्यान गएको छ । गत कात्तिक १३ मा कोभिड–१९ पुष्टि भएका ती पुरुषलाई उपचारार्थ चरक मेमोरियल अस्पताल भर्ना गरिएकोमा उपचारक्रममा बुधबार दिउँसो मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतक सबैको शव व्यवस्थापन तयारी भइरहेको जनाइएको छ । पोखरामा मंगलबार पनि ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । गण्डकीमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ९३ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्