०९ असार २०८३, मंगलबार

अमेरिकी राष्ट्रपतीय निर्वाचन : गाउँमा ट्रम्प, शहरमा बाइडेन अगाडि

कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचन : गाउँमा ट्रम्प, शहरमा बाइडेन अगाडि

अमेरिकी राष्ट्रपतिको निर्वाचन निकै प्रतिस्पर्धात्मक बनेको छ । सर्वेक्षणहरूको अनुमानविपरीत राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको प्रतिस्पर्धा झिनो अन्तरले छिनोफानो हुने स्पष्ट भएको छ ।

नतिजाका लागि भने अझै केही दिन पर्खनुपर्ने देखिएको छ । विगतभन्दा पृथक् मानिएको ‘अर्ली भोटिङ’ का कारण नतिजाको पर्खाइ लम्बिने भएको हो । मतपेटिका आउने क्रमसँगै मतगणना जारी छ ।

ट्रम्पले मतदानको तौरतरिकाको आलोचना गर्दै आफूले अग्रता लिइरहेका राज्यहरूको बाँकी मतगणना नगर्न माग गरेका छन् । मतगणना जारी रहँदै ट्रम्पले आफ्नो विजयको उद्घोष मात्र गरेनन्, चुनावमा धाँधली भएको भनी मतगणनाको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालतको ढोका ढकढक्याउने संकेत पनि गरे । उनले चुनावमा भएको धाँधलीबारे प्रमाण भने सार्वजनिक नगरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

२० वर्षअघिको जर्ज डब्लू बुस र एल गोरबीचको प्रतिस्पर्धामा फ्लोरिडामा ५ सय ३७ मतको झिनो अन्तरको मतगणनामा विवाद भएको थियो । त्यतिबेला अमेरिकी सर्वोच्च अदालतले बुसको पक्षमा निर्णय गरेको थियो ।

डेमोक््रयाट प्रत्याशी बाइडेनले अमेरिकी जनतालाई सम्बोधन गर्दै धैर्य गर्न आह्वान गरेका छन् । उनले चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । जितका लागि २ सय ७० इलेक्टोरल कलेज भोट चाहिनेमा एक दर्जन ‘ब्याटलग्राउन्ड’ राज्यमध्ये सातमा निकै प्रतिस्पर्धा चलिरहेको छ ।

पेन्सलभेनिया, विस्किन्सन, मिसिगन, जर्जिया, नेभडा, एरिजोना र नर्थ क्लारोलिनामा दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । यी राज्यमा ९४ इलेक्टोरल कलेज भोट छ । एरिजोना, नेभाडा, विस्किन्सन र मिसिगनमा बाइडेनको झिनो अग्रता छ । पेन्सलभेनिया, जर्जिया र नर्थ क्लारोलिनामा ट्रम्प थोरै मतले अगाडि छन् । नेपाली समयअनुसार बुधबार रातिसम्म बाइडेन २ सय २७ को स्थितिमा छन् भने ट्रम्पले २ सय १३ ले पछ्याइरहेका छन् ।

अमेरिकी राष्ट्रपतिका लागि मंगलबार प्रत्यक्ष चुनाव भएको थियो । करिब १० करोड मतदाताले त्यसअघि नै मत खसालेका थिए । त्योमध्ये करिब साढे ६ करोड मत हुलाकमार्फत खसाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिड–१९ महामारीका कारण पनि विगतको तुलनामा यस पटक निकै धेरै मतदाताले हुलाकमार्फत मत खसालेका हुन् ।

मतदाताको हस्ताक्षर र ठेगाना रुजु गर्नुपर्ने भएकाले पनि हुलाकमार्फत पठाइएका मतपत्र गन्न समय लाग्ने गर्छ । फ्लोरिडालगायत केही राज्यले केही साताअघि नै त्यस्तो मतदान सुरु गरेका थिए ।

फ्लोरिडामा ट्रम्पको पक्षमा परिणाम आइसकेको छ । सात ‘ब्याटलग्राउन्ड’ राज्यमा उल्लेख्य ‘अर्ली भोटिङ’ को मतगणना गर्न बाँकी रहेकाले परिणामबारे अनुमान लगाउन सकिने स्थिति छैन । पेन्सिलभेनिया, विस्किन्सन, मिसिगन र जर्जियाका सहरी क्षेत्रको मतगणना बाँकी रहेकाले बाइडेन पक्ष निकै आशावादी देखिएको छ । मत सर्वेक्षणहरूले अर्ली भोटिङले डेमोक््रयाट्सलाई फाइदा गर्ने देखाएका थिए ।

ओझेलमा पर्‍यो कोभिड मुद्दा
२ लाख ३० हजारभन्दा बढी अमेरिकीको मृत्यु भएकाले कोभिड–१९ यस पटक चुनावको जल्दोबल्दो एजेन्डा ठानिएको थियो । तर चुनावी दिनको रौनकले अमेरिकी जनतामा अर्थतन्त्रको चिन्ता ज्यादा देखिएको विश्लेषकहरू दाबी गर्छन् ।

नतिजाको अन्तर ठूलो हुने सर्वेक्षण एवं सञ्चारमाध्यमको दाबीविपरीत तीव्र प्रतिस्पर्धा हुनुले हरेक एजेन्डामा अमेरिकी समाजको तीव्र विभाजनलाई फेरि एकपटक छर्लंग पारेको छ ।

कोभिड–१९ का कारण ठप्प रहेको अमेरिकी अर्थतन्त्र ओरालो लागेको छ । लाखौंले रोजगारी गुमाएका छन् । त्यसका साथै श्वेत समुदायलाई रिझाउने रणनीतिका कारण चुनावमा ट्रम्पको नश्लवादको एजेन्डाले प्रभाव पारेको देखिएको छ ।

चार वर्षअघि झैं यसपटक पनि ग्रामीण क्षेत्रमा ट्रम्पले उल्लेख्य मत पाएका छन् भने बाइडेनले सहरी क्षेत्रमा पकड जमाएको प्रस्ट भएको छ । तर अझै लाखौं मतको गणना बाँकी छ । कान्तिपुर दैनिकमा दिनेशजंग शाहले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्