२५ जेठ २०८३, सोमबार
मोटरसाइकल चोरीको नयाँ काइदा

ट्राफिक प्रहरीलाई नै झुक्याउने त्यो ब्लू बूक‍‍‍...

कात्तिक २४, २०७७
ट्राफिक प्रहरीलाई नै झुक्याउने त्यो ब्लू बूक‍‍‍...

काठमाडौंका बब्लु (नाम परिवर्तन)ले काठमाडौं उपत्यकाका सामान्य घरहरूमा रंगको ठेक्कापट्टाको काम गर्दै आएका छन् ।

नयाँ घरमा पेन्टिङ गर्ने कामदार खोज्ने र उनीहरूलाई काम लगाएर केही पैसा कमाउँदै आएका छन् । 

काठमाडौंमा मानिसहरूको भीडभाड र पछिल्लो समय फैलिएको कोरोना महामारीका कारण उनलाई सार्वजनिक यातायातमा हिँड्न अलिक असहज भयो र जोखिम पनि हुने भएकाले उनले बचाएको केही पैसाले मोटरसाइकल किन्ने सोच बनाए ।

उनीसँग धेरै पैसा नभएकाले नयाँ किन्न पनि सक्ने अवस्था थिएन । अझ भन्नुपर्दा २/३ किस्ता गरेर पैसा तिर्ने योजना बनाएका थिए । र त्यस्तै मोटरसाइकलको खोजीमा थिए ।

काम गर्ने क्रममै सामान्य चिनजानका व्यक्तिले आफूसँग २२० सीसीको पल्सर मोटरसाइकल रहेको बताए ।

उनले पैसाको अभावले मोटरसाइकल बेच्न लागेको बताएका थिए ।

बाग्मती प्रदेश ०२–०३ लटको नयाँ पल्सर बाइक र आफूले भनेजस्तो २/३ किस्तामा तिरेपनि हुने भएकाले उनले किन्ने निधो गरे ।

ती व्यक्तिसँग २ लाखमा किन्ने कुरा छिने अनि आफूसँग भएको एक लाख दिएर उनले मोटरसाइकल लिए ।

त्यसको १५ दिनपछि साथीभाइसँग मागेर उनले ती व्यक्तिलाई फेरि ५० हजार दिए । बाँकी ५० हजार १ महिनापछि दिने बताए, ती व्यक्तिले पूर्वशर्तअनुसार माने ।

ती व्यक्तिले बब्लुलाई बाँकी पैसा तिरेपछि मोटरसाइकल पास गरिदिने बताएका थिए ।

उनले धादिङ घर भएका मिजार थरका एक जनाको नाममा रहेको २२० सीसीको पल्सर मोटरसाइकल २ महिना चलाए ।

त्यो बीचमा उनी धेरैपटक प्रहरी चेकिङमा परेका थिए, प्रहरीले छाडिदिएको थियो अर्थात् ब्लू बूक र मोटरसाइकलमा भएको चेसिस नम्बर एउटै भएकाले छाडिदिएको थियो ।

कात्तिक १९ गते महानगरीय ट्राफिक प्रहरीको काठमाडौंको कालीमाटीमा चेकिङ थियो । उपत्यकामा मोटरसाइकल चोरीका घटना बढेकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकिङ राखेको थियो ।

त्यो चेकिङमा बब्लु पनि परे । उनले आफूसँग भएको ब्लू बूक देखाए । ट्राफिक प्रहरीले ब्लू बूक लियो ।

मोटरसाइकलको च्याचिस नम्बर र इञ्जिन नम्बर जाँच गर्‍यो । ट्राफिक प्रहरीलाई शंका लाग्यो । बब्लुलाई त्यो मोटरसाइकलको बारेमा सोध्यो उनले आफूले सेकेन्डह्यान्डमा किनेको बताए ।

प्रहरीले बब्लुलाई लाइसेन्स, ब्लू बूक र उनको मोबाइल नम्बर लिएर छाड्यो । 

महानगरीय प्रहरी महाशाखाले मोटरसाइकल र ब्लू बूकमा भएको इञ्जिन नम्बर र च्याचिस नम्बर फरक भएको शंका लागेपछि प्रहरीको विधिविज्ञान प्रयोगशालामा जाँचका लागि पठायो ।

प्रयोगशालाले मोटरसाइकलको च्याचिस र इञ्जिन नम्बर मेटाएर ब्लू बूकमा भएको च्याचिस नम्बर र इञ्जिन नम्बर राखेको प्रमाणित गरेर पठाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) जितेश दाहालले बताए ।

‘हामीले त्यो मोटरसाइकललाई विधिविज्ञान प्रयोगशालामा पठाएर परीक्षण गर्दा ब्लू बूकमा भएको  इञ्जिन नम्बर र च्याचिस नम्बर फरक भएको रिपोर्ट आएको छ,’ इन्सपेक्टर दाहालले लोकान्तरसँग भने, ‘यसरी हेर्दा मोटरसाइकल चोरेर इञ्जिन र च्याचिस नम्बर परिर्वतन गरेको देखियो ।’

इन्सपेक्टर दाहालका अनुसार चोरीको मोटरसाइकलमा सडकमा भेटिएको ब्लू बूकको इञ्जिन र च्याचिस नम्बर परिर्वतन गरेर अर्कैलाई बेचेको पाइएको छ । 

मोटरसाइकल बेच्ने व्यक्तिले मोबाइल नम्बर अफ गरेर राखेका मोटरसाइकल बेच्ने व्यक्ति को हुन् ? भन्ने कुरा पत्ता लगाउन नसकिएको दाहालले बताए ।

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गरेर भेट्टाएको ब्लू बूकको च्याचिस र इञ्जिन नम्बर परिर्वतन गरेर बिक्री गर्ने गरेको पुष्टि भएको बताएको छ । 

ट्राफिक प्रहरीले ती व्यक्ति चोरी गर्ने गिरोहमध्येका हुन सक्ने भएकाले खोजी गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले बताए ।

‘हामीले मोटरसाइकलको च्याचिस र इञ्जिन नम्बर नै परिर्वतन गरेर बिक्री गर्ने गिरोह नै भएको हुनसक्ने अनुमान गरेका छौं र खोजी पनि गरिरहेका छौं,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।

एसपी ढकालका अनुसार मोटरसाइकल चोरी गरेर इञ्जिन नम्बर नै परिवर्तन गरेर चलाउने, पार्टपूर्जाहरू झिकेर अन्यन्त्र बिक्री गर्ने गरेका छन् ।

विषेश गरेर उपत्यकाका अस्पताल, शपिङ मल, पार्किङ क्षेत्र, दैनिक पार्किङ गर्ने घर लगायतका ठाउँलाई चोरले टार्गेट गर्ने गरेको प्रमुख ढकालले बताए ।

३/४ लाख पैसा खर्च गरेर मोटरसाइकल किन्ने सवारीधनीले सामान्य खालका सुरक्षाको उपकरणहरू प्रयोग नगर्दा मोटरसाइकल हराउने गरेको छ । 

मोटरसाइकललाई सुरक्षा गर्न डिस लक, साइरन लगायतका सुरक्षा उपकरणहरू जडान गर्दा चोरीबाट जोखिन सक्ने एसएसपी ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्